सिरहाको सब–डिभिजन वन कार्यालय प्रमुख घुस सहित रंगेहात पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिबासबाट खटिएको टोलीले सिरहाको सब–डिभिजन वन कार्यालय बन्दिपुरका कार्यालय प्रमुखलाई घुस सहित रंगेहात पक्राउ गरेको छ।
सब–डिभिजन वन कार्यालय प्रमुख (अधिकृत आठौं) राम केवल राय यादवलाई उद्योगको लागि ल्याइएको काठहरू शिलबन्दी अनुसार भए/नभएको रुजु गरी कागजात सहितको फाइल फिर्ता गर्ने क्रममा घुस लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरिएको हो।
उनलाई अख्तियारको टोलीले सेवाग्राहीबाट १२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएपछि खानतलासी गर्ने क्रममा उनको साथबाट स्रोत नखुलेको १ लाख ३३ हजार १२० रुपैयाँ पनि बरामद भएको छ।
यसरी उनको साथबाट कुल १ लाख ४५ हजार १२० रुपैयाँ र १ थान मोबाइल फोन पनि अख्तियारको टोलीले बरामद गरेको छ। उनलाई सिरहाको कर्जन्हा नगरपालिका वडा नम्बर ४ स्थित मिर्चैयाबाट बन्दीपुर जाने महेन्द्र राजमार्गबाट हिजो मंगलबार पक्राउ गरेको हो।











