शारजाहबाट कराँची उडेको पाकिस्तानी कार्गो विमान सम्पर्कविहीन

२४ असार २०८३, बुधबार १०:३४

काठमाडौँ ।  संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाहबाट पाकिस्तानको कराँचीका लागि उडेको पाकिस्तान के–टू एयरवेजको कार्गो विमान सम्पर्कविहीन भएको छ। विमानसँग सम्पर्क टुटेपछि पाकिस्तानी नौसेना, वायुसेना तथा अन्य सम्बन्धित निकायले खोजी तथा उद्धार अभियान तीव्र बनाएका छन्।

बीबीसी उर्दूका अनुसार बोइङ ७३७ कार्गो विमानमा चालक दलका पाँच जना सदस्य सवार थिए। पाकिस्तान एयरपोर्ट अथोरिटीले मंगलबार राति पाकिस्तान समयअनुसार ९:१८ बजे विमानको नेभिगेसन प्रणालीमा समस्या आएको सूचना प्राप्त भएको जनाएको छ।

सूचना प्राप्त हुनासाथ कराँची एरिया कन्ट्रोल सेन्टरले विमानलाई मार्गनिर्देशन गर्न सुरु गरेको थियो। तर राति ९:२१ बजे राडारमा विमान तीव्र गतिमा तल झर्दै गरेको देखिएको र त्यसको दिशा पनि अचानक परिवर्तन भएको बताइएको छ।

त्यसको केहीबेरपछि कराँचीबाट करिब १५५ नटिकल माइल पश्चिम पुगेपछि विमानसँगको राडार तथा रेडियो सम्पर्क पूर्ण रूपमा विच्छेद भएको पाकिस्तान एयरपोर्ट अथोरिटीले जनाएको छ।

सम्पर्कविहीन विमानको खोजीका लागि पाकिस्तानी नौसेनाको युद्धपोत पीएनएस जुल्फिकार प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। यसैगरी, पाकिस्तानी नौसेनाको एटीआर विमान तुरबतबाट उडिसकेको छ भने पाकिस्तान नेशनल शिपिङ कर्पोरेशनको व्यावसायिक जहाज ‘लाहोर’ पनि खोजी तथा उद्धार अभियानमा सहभागी भएको छ।

अधिकारीहरूले विमानको अवस्थाबारे यकिन जानकारी आउन बाँकी रहेको जनाउँदै खोजी कार्य जारी रहेको बताएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*