निर्जीवन बीमा कम्पनीहरूले कर्मचारी सुविधामा खर्चिए ३ अर्ब ७९ करोड, कुन कम्पनीले कति?

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्म निर्जीवन बीमा कम्पनीहरूको कर्मचारी सुविधा खर्च ५.३२ प्रतिशतले बढेको छ। कर्मचारी सुविधा खर्चमा कर्मचारीलाई दिइने तलब, भत्ता, बोनस लगायत अन्य कर्मचारी सम्बन्धी सुविधामा हुने खर्चलाई जनाउँछ।
सार्वजनिक गरिएको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार १४ वटा निर्जीवन बीमा कम्पनीको कुल कर्मचारी सुविधा खर्च गत आर्थिक वर्षको सोही अवधिको ३ अर्ब ६० करोड १० लाख रुपैयाँबाट बढेर चालु आवको सोही अवधिमा ३ अर्ब ७९ करोड २५ लाख पुगेको छ।
सबैभन्दा धेरै कर्मचारी सुविधा खर्च शिखर इन्स्योरेन्सको रहेको छ। कम्पनीले तेस्रो त्रैमाससम्म ४२ करोड ५३ लाख खर्च गरेको छ जुन अघिल्लो वर्षको तुलनामा ८.५५ प्रतिशत बढी हो।
त्यसपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ४१ करोड ६७ लाख रुपैयाँ, सालिको इन्स्योरेन्सले ३९ करोड ९१ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३५ करोड २५ लाख रुपैयाँ तथा नेको इन्स्योरेन्सले ३२ करोड ७८ लाख रुपैयाँ कर्मचारी सुविधा खर्च गरेका छन्।

त्यसपछि आईजीआई प्रुडेन्सियलले ३० करोड ३७ लाख रुपैयाँ, यूनाइटेड अजोडले ३० करोड १४ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले २६ करोड ४९ लाख रुपैयाँ, सानिमा जिआईसीले २२ करोड ७५ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले २१ करोड ९१ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले १७ करोड ६० लाख रुपैयाँ, ओरियन्टल इन्स्योरेन्सले १६ करोड ७४ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १४ करोड ७७ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्सले ६ करोड २८ लाख रुपैयाँ खर्च गरेका छन्।
वृद्धिदरका आधारमा भने ओरियन्टल इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएको छ। कम्पनीको कर्मचारी सुविधा खर्च ७३.८१ प्रतिशत बढेको छ भने त्यसपछि नेशनलको २५.८५ प्रतिशत, एनएलजीको १९.०१ प्रतिशत, हिमालयन एभरेष्टको १४.३८ प्रतिशत र नेपाल इन्स्योरेन्सको ११.६४ प्रतिशतले कर्मचारी सुविधा खर्च बढेको छ।
यता राष्ट्रिय बीमा कम्पनीको कर्मचारी सुविधा खर्च १५.०७ प्रतिशतले घटेको छ। त्यस्तै सानिमा जिआईसीको १२.९३ प्रतिशत, आईजीआई प्रुडेन्सियलको ७.४३ प्रतिशत, सिद्धार्थ प्रिमियरको २.०३ प्रतिशत तथा सालिको इन्स्योरेन्सको १.०१ प्रतिशतले खर्च घटेको वित्तीय विवरणले देखाएको छ।











