निजी क्षेत्रको चर्को असन्तुष्टिपछि बालेनले खोले संवादको ढोका, ब्यवसायीसँग पहिलो पटक सिंहदरबारमा भेटवार्ता

काठमाडौं । सरकार गठन भएयता निजी क्षेत्रसँग दूरी बढाएको आरोप खेपिरहेका बालेन शाह अन्ततः उद्योगी–व्यवसायीसँग औपचारिक संवादमा बसेका छन्। सरकारका पछिल्ला कदमप्रति उद्योगी–व्यवसायीबाट चर्को असन्तुष्टि र चौतर्फी आलोचना भइरहेका बेला शाह पहिलो पटक निजी क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गर्न तयार भएका हुन्।
पछिल्लो केही महिनादेखि सरकारले व्यवसायीमाथि कडाइका नाममा धरपकड बढाएको, व्यवसायीलाई पहिले कारबाही गर्ने र पछि मात्र उनीहरूको कुरा सुन्ने प्रवृत्ति देखिएको भन्दै निजी क्षेत्रले निरन्तर असन्तुष्टि व्यक्त गर्दै आएको थियो। व्यवसायमै त्रासको वातावरण सिर्जना भएको, लगानीमै नकारात्मक असर परेको र स्वदेशी पुँजी विदेश पलायन हुने जोखिम बढेको भन्दै उद्योगी–व्यवसायीले सरकारको खुलेर आलोचना गरिरहेका थिए।
सरकारले निजी क्षेत्रसँग पर्याप्त संवाद नगरेको, व्यवसायीका समस्या सुन्ने इच्छाशक्ति नदेखाएको र लगानीमैत्री वातावरण कमजोर बनाएको आरोप पनि व्यवसायीहरूले लगाउँदै आएका थिए। सरकार गठनपछि बालेन शाहलाई भेटेर आफ्ना समस्या राख्न निजी क्षेत्रले पटक–पटक प्रयास गरे पनि उनले समय उपलब्ध नगराएको गुनासो उनीहरूको थियो।
अन्तत: कसैलाई नगन्ने र कसैको नसुन्ने बालेन शाहले सरकार गठन भएपछि पहिलो पटक ब्यवसायीहरुसँग भेट्न राजी भएका हुन् । शाहले पहिलो पटक निजी क्षेत्रका प्रमुख छाता संगठनका प्रतिनिधिहरूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा छलफलका लागि बोलाएका छन्। बुधबार बिहान ११ बजेदेखि सुरु भएको बैठकमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्सलगायत निजी क्षेत्रका प्रमुख संस्थाका प्रतिनिधिहरू सहभागी भएका छन्।
प्रधानमन्त्री शाह गत चैत १३ गते प्रधानमन्त्री नियुक्त भएदेखि नै निजी क्षेत्रसँग प्रत्यक्ष संवाद नगरेको भन्दै आलोचना हुँदै आएको थियो। आर्थिक गतिविधि सुस्ताइरहेका बेला निजी क्षेत्रको मनोबल खस्किएको, उद्योग–व्यवसाय सञ्चालन गर्न कठिन बन्दै गएको तथा सरकारले आफ्ना धारणा र समस्यालाई बेवास्ता गरेको भन्दै व्यवसायीहरूले पटक–पटक संवादको आवश्यकता औँल्याएका थिए।
चेम्बर अफ कमर्सका एक प्रतिनिधिका अनुसार बैठकमा वर्तमान व्यवसायिक वातावरण, उद्योग–व्यवसायमा देखिएका चुनौती, सरकारले आगामी दिनमा अवलम्बन गर्ने आर्थिक तथा औद्योगिक नीति, व्यवसायीका गुनासा, लगानीमैत्री वातावरण निर्माण तथा सहजीकरणका उपायबारे विस्तृत छलफल हुनेछ ।
अर्थतन्त्रको प्रमुख साझेदारका रूपमा रहेको निजी क्षेत्र नै असन्तुष्ट र विचलित हुन थालेपछि सरकारले अन्ततः संवादको बाटो रोजेको छ। पछिल्ला दिनमा उद्योगी–व्यवसायीहरूले व्यवसायिक वातावरण असुरक्षित बन्दै गएको, लगानीकर्तामा निराशा बढेको तथा स्वदेशी पुँजी विदेशिने जोखिम तीव्र भएको चेतावनी दिँदै आएका थिए।











