आधा दर्जन बीमा कम्पनी सिईओ बिना सञ्चालनमा, कर्मचारीहरुले प्राधिकरणमा गराए ध्यानाकर्षण

२४ असार २०८३, बुधबार ११:४५

काठमाडौं । नेपालको बीमा उद्योग अहिले गम्भीर नेतृत्व संकटबाट गुज्रिरहेको छ। जीवन बीमा, निर्जीवन बीमा, पुनर्बीमा तथा माइक्रो इन्स्योरेन्स क्षेत्रका आधा दर्जन बीमा कम्पनीहरुमा स्थायी प्रमुख कार्यकारी अधिकृत (सिईओ)विना नै सञ्चालन भइरहेका छन्।

सिर्ईओविना सञ्चालन रहेका बीमा कम्पनीहरुको दैनिक काम कारवाहीमा समस्या देखिन थालेपछि प्राधिकरणमा समेत कर्मचारीहरुले यस बिषयमा ध्यानाकर्षण गराईसकेका छन् । असारको क्लोजिङ्गमा बिशेष गरी समस्या पर्ने कर्मचारीहरुको भनाई रहेको छ ।

बीमा प्राधिकरणको निर्देशिका अनुसार सीईओ पद रिक्त भएमा वरिष्ठ कर्मचारीलाई बढीमा तीन महिनासम्म कायममुकायम सीईओको जिम्मेवारी दिन सकिन्छ।

तर धेरै कम्पनीले यही अस्थायी व्यवस्थालाई लामो समयसम्म निरन्तरता दिएका छन्। हिमालयन रिइन्स्योरेन्स देखि आधा दर्जन कम्पनीमा कामु सीईओसमेत तोकेको छैन ।

बीमा ऐन, २०७९ ले सीईओ नियुक्त गर्ने अधिकार सम्बन्धित कम्पनीको सञ्चालक समितिलाई दिएको छ।

त्यसैले नियुक्तिमा भएको ढिलाइको पहिलो जिम्मेवारी बोर्डमाथि पर्ने देखिन्छ। यद्यपि, तीन महिनाभित्र स्थायी नेतृत्व नियुक्त गराउने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गराउन नसकेको भन्दै नेपाल बीमा प्राधिकरणको भूमिकामाथि पनि प्रश्न उठ्न थालेको छ।

बीमा उद्योग अहिले डिजिटल रूपान्तरण, नयाँ बीमा उत्पादन, साइबर तथा जलवायुजन्य जोखिम व्यवस्थापनजस्ता चुनौतीको चरणमा रहेकाले नेतृत्व रिक्तताले दीर्घकालीन रणनीतिक निर्णय, लगानी व्यवस्थापन र व्यवसाय विस्तार प्रभावित हुने सरोकारवालाको भनाइ छ।

साथै कर्मचारीको मनोबल, लगानीकर्ताको विश्वास र बीमितको भरोसामा समेत असर पर्ने चेतावनी दिइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*