जीवन बीमा कम्पनीहरूको नवीकरण बीमाशुल्क ९.५६ प्रतिशतले बढ्योः नेपाल लाइफ पहिलो, वृद्धिदरमा आईएमई लाइफ अगाडि

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरूले १ खर्ब ७ अर्ब ७२ करोड १४ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका छन्। यो अघिल्लो आवको सोही अवधिको ९८ अर्ब ३१ करोड ९३ लाख रुपैयाँको तुलनामा ९.५६ प्रतिशतले बढी हो।
बीमा गरेपछि बीमितले आफ्नो बीमा पोलिसीलाई निरन्तर रूपमा सक्रिय राख्नका लागि प्रत्येक वर्ष वा किस्ताअनुसार निश्चित रुपैयाँ तिर्नुपर्ने हुन्छ जसलाई नवीकरण बीमाशुल्क भनिन्छ। नवीकरण बीमाशुल्क जीवन बीमा कम्पनीहरूको नियमित आम्दानीको महत्वपूर्ण स्रोत पनि हो।
चालू आवको ९ महीनासम्म नेपाल लाइफले सर्वाधिक २८ अर्ब ४८ करोड ८१ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेको छ। त्यसपछि एलआईसी नेपालले १२ अर्ब ७० करोड १२ लाख रुपैयाँ, नेशनल लाइफले ११ अर्ब ६५ करोड ५४ लाख रुपैयाँ, हिमालयन लाइफले ११ अर्ब ४८ करोड ७३ लाख रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीले ८ अर्ब २५ करोड १५ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका छन्।

त्यसपछि सूर्यज्योति लाइफले ६ अर्ब ३५ करोड ६० लाख रुपैयाँ, एशियन लाइफले ५ अर्ब ४९ करोड २४ लाख रुपैयाँ, सिटिजन लाइफले ४ अर्ब ११ करोड ५९ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ३ अर्ब ९४ करोड ४२ लाख रुपैयाँ, मेट लाइफले ३ अर्ब ७४ करोड २१ लाख रुपैयाँ, आईएमई लाइफले ३ अर्ब १९ करोड ७९ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले २ अर्ब ९८ करोड ६४ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले २ अर्ब ९६ करोड ९९ लाख रुपैयाँ र सन नेपाल लाइफले २ अर्ब ३३ करोड २५ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका छन्।
वृद्धिदरतर्फ आईएमई लाइफ २३.२६ प्रतिशत सहित पहिलो स्थानमा रहेको छ भने रिलायबल नेपालको १९.१३ प्रतिशत, सन नेपालको १६.६९ प्रतिशत, सिटिजनको १५.१७ प्रतिशत, प्रभु महालक्ष्मीको १४.३८ प्रतिशत, सानिमा रिलायन्सको १३.३८ प्रतिशतले नवीकरण बीमाशुल्क आर्जन वृद्धि भएको छ।
यता सूर्यज्योतिको १२.४६ प्रतिशत, राष्ट्रिय जीवन बीमा कम्पनीको ११.७२ प्रतिशत, नेशनलको ११.५४ प्रतिशत, एशियनको ८.७० प्रतिशत, मेट लाइफको ८.१९ प्रतिशत, हिमालयनको ७.०८ प्रतिशत, नेपाल लाइफको ६.७२ प्रतिशत र एलआईसी नेपालको ४.५६ प्रतिशत वृद्धि रहेको छ।











