मौद्रिक नीतिलाई शेयर बजारको रातो कार्पेटः त्रसित हुँदै लगानीकर्ता, यी हुन् अझै राताम्य हुने संकेत !

२४ असार २०८३, बुधबार १५:०७

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिलाई शेयर बजारले सकारात्मक रूपमा स्वागत गर्न सकेन । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको मौद्रिक नीतिपछि लगानीकर्ताले ठूलो अपेक्षा राखेको भए पनि त्यसअनुसारका व्यवस्था नआउँदा बुधबार बजारमा उल्लेख्य गिरावट देखिएको छ । मौद्रिक नीति सार्वजनिक हुने दिन सामान्य सुधारको अपेक्षा गरिएको थियो तर कारोबार सुरु भएदेखि नै बिक्री चाप बढ्दै जाँदा बजार राताम्मे बनेको हो । यसले मौद्रिक नीतिप्रति पूँजीबजारको तत्कालीन प्रतिक्रिया निराशाजनक रहेको संकेत गरेको छ ।

फागुन २१ पछि राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वमा सरकार गठन भएसँगै राजनीतिक स्थायित्व र आर्थिक सुधारको अपेक्षा बढेको थियो । त्यसको सकारात्मक प्रभाव पूँजीबजारमा पनि पर्ने विश्वास गरिएको भए पनि पछिल्ला करिब सय दिनमा बजारले अपेक्षित गति लिन सकेन। अधिकांश समय बजार दबाबमै रहेकाले लगानीकर्ताको आत्मविश्वास कमजोर बन्दै गएको थियो । यस्तो अवस्थामा मौद्रिक नीतिले पूँजीबजारलाई प्रत्यक्ष सम्बोधन गर्दै केही सुधारात्मक व्यवस्था ल्याउने अपेक्षा गरिएको थियो । विशेषगरी बैंक तथा वित्तीय संस्थाका सहायक कम्पनीलाई दोस्रो बजारमा सक्रिय बनाउने, संस्थागत लगानीकर्ताको सहभागिता विस्तार गर्ने, बैंक तथा वित्तीय संस्थामाथि लगाइएको शेयर लगानी सीमा पुनरावलोकन गर्ने तथा बीमा कम्पनी, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता ठूला संस्थागत लगानीकर्तालाई थप सक्रिय बनाउने व्यवस्थाको माग लगानीकर्ताले गरेका थिए । साथै लघुवित्त संस्थाको लाभांश वितरण नीतिमा पनि वित्तीय अवस्थाअनुसार लचकता अपनाइने अपेक्षा गरिएको थियो ।

तर सार्वजनिक मौद्रिक नीतिले पूँजीबजारसँग प्रत्यक्ष सम्बन्धित यस्ता विषयलाई प्राथमिकतामा नराखी बैंकिङ प्रणाली सुधार, कर्जा प्रवाह विस्तार, तरलता व्यवस्थापन तथा उत्पादनशील क्षेत्रमा लगानी परिचालनलाई मुख्य केन्द्रमा राखेको देखिन्छ। आकारका हिसाबले संक्षिप्त रहेको मौद्रिक नीतिले वित्तीय प्रणालीलाई स्थिर बनाउँदै बैंकिङ सुधारमार्फत अर्थतन्त्रलाई चलायमान बनाउने सन्देश दिएको छ । यद्यपि पूँजीबजारसँग सम्बन्धित स्पष्ट नीतिगत व्यवस्था नआउँदा लगानीकर्तामा निराशा देखिएको र त्यसको प्रत्यक्ष प्रभाव बजारमा परेको विश्लेषण गरिएको छ ।

यता पछिल्ला केही सातादेखि नियामक निकाय र अनुसन्धान एजेन्सीहरूको बढ्दो सक्रियताले पनि बजारमा सतर्कता बढाएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले धितोपत्र कारोबारसँग सम्बन्धित विभिन्न गतिविधिमाथि अनुसन्धान अघि बढाएपछि ठूला कारोबारी समूह संयमित बनेका छन्। नेपाल धितोपत्र बोर्ड स्रोतका अनुसार उच्च कारोबार गर्ने केही ब्रोकर कम्पनीमार्फत भएका ठूला कारोबारको प्रकृति अध्ययन भइरहेका कारण बजारमा कारोबारको गति केही प्रभावित भएको मानिएको छ। यसले बजारमा नयाँ लगानीको उत्साह घट्नुका साथै कारोबारमा मनोवैज्ञानिक दबाब पनि सिर्जना गरेको देखिन्छ ।

यससँगै शेयर लगानीकर्ताले बजारमा देखिएको गिरावटलाई मौद्रिक नीतिमात्र नभई असार मसान्तको मौसमी दबाबसँग पनि जोडेर हेरेका छन् । असारमा कर तथा अन्य वित्तीय दायित्व भुक्तानी गर्नुपर्ने, साउनदेखि लागू हुने नयाँ कर व्यवस्थाको प्रभाव तथा नगद व्यवस्थापनका कारण धेरै लगानीकर्ताले शेयर बिक्री बढाएको उनीहरूको भनाइ छ। त्यसैले अहिलेको गिरावटलाई मौद्रिक नीतिप्रतिको निराशा, नियामकीय सक्रियता र असार मसान्तको नगद चाप गरी तीनवटै कारणले सिर्जना गरेको दबाबका रूपमा बजार विश्लेषकहरूले व्याख्या गरेका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३०.०९अकंले घटेर २६२१.५९ बिन्दुमा कायम भएको छ । आज ३६२ कम्पनीको ८४ लाख ६३ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८२ करोड ६० लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन १२ उपसूचक राताम्य भएका छन् । आज वाणिज्य बैंक समूहको १.१८ प्रतिशत, विकास बैंक समूहको १.४६ प्रतिशत, फाइनान्स समूहको १.४३ प्रतिशतले शेयर मूल्य घटेको छ ।

बुधबार २५ कम्पनीको शेयर मूल्य बढेको छ भने २४७ कम्पनीको घटेको छ । ५ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*