सामाजिक कार्य गर्दै नेपाल एसबिआई बैंकले मनायो आफ्नो ३३औं वार्षिकोत्सव

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले जुलाई ७ मा विभिन्न कार्यक्रमहरूको आयोजना गरी आफ्नो ३३औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ।
वार्षिकोत्सवको अवसरमा बैंकको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) राम कुमार तिवारीले सबै कर्मचारीहरूलाई बैंकप्रतिको जिम्मेवारीका लागि प्रतिबद्धतास्वरूप शपथ ग्रहण गराएका थिए।
प्रदेश तथा देशभरका शाखा कार्यालयका कर्मचारीहरूले पनि भर्चुअल माध्यमबाट सहभागी भई शपथ ग्रहण गरेका थिए। कार्यक्रममा बैंकका डीसीईओ तथा प्रमुख संचालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा, प्रमुख अनुपालन अधिकृत विष्णु देव यादव तथा बैंकका अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो।
कर्मचारीहरूलाई सम्बोधन गर्दै सीईओ तिवारीले बैंकको विरासतलाई कायम राख्दै वित्तीय क्षेत्रमा एक अग्रणी बैंकको रूपमा स्थान कायम राख्न प्रत्येक कर्मचारीले आ–आफ्नो जिम्मेवारी बहन गर्नु पर्नेमा जोड दिएका थिए। उनले बैंकले निरन्तर पालना गर्दै आएका अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासहरूले सुशासनलाई सुदृढ पार्न र सञ्चालन उत्कृष्टता कायम गर्न बैंक सफल भएको बताए।
सीईओ तिवारीले सबै कर्मचारीहरूलाई नैतिकता, इमानदारीता, नवीनता, ग्राहक–केन्द्रित सेवा तथा सहकार्य मार्फत उत्कृष्टताको लागि प्रयासरत रहन प्रोत्साहित गर्दै समर्पण, प्रतिबद्धता र सामूहिक प्रयास मार्फत चुनौतीहरूलाई अवसरमा र आकांक्षालाई उपलब्धिमा रूपान्तरण गर्ने आवश्यकतामा जोड दिएका थिए।
सो अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत प्रधान सहित सबै प्रदेश कार्यालयहरूमा रक्तदान कार्यक्रम सञ्चालन गरेको थियो। विराटनगरस्थित श्री लक्ष्मीनारायण वेद विद्याश्रमलाई प्रविधिमैत्री शिक्षाका लागि स्मार्ट बोर्ड र विराटेश्वर ज्येष्ठ नागरिकमैत्री क्लिनिकलाई आर्थिक सहयोग गरेको थियो।
त्यसैगरी वीरेन्द्रनगरस्थित श्री प्रभात माध्यमिक विद्यालय र श्री हरिदिल भूमि माध्यमिक विद्यालयलाई पनि प्रविधिमा आधारित शिक्षाका लागि स्मार्ट बोर्ड प्रदान गरेको थियो। नेपाल एसबिआई बैंकले विगत ३३ वर्षदेखि बैंकिङ सेवा दिंदै आएको छ। हाला यस बैंकका १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ, १२७ एटीएम सञ्चालनमा रहेका छन्।











