सिभिल हस्पिटलमा ३ करोडको औषधि घोटाला, आठजना कर्मचारीमाथि मुद्दा

२४ असार २०८३, बुधबार १७:०४

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल) को फार्मेसी शाखामा औषधि खरिद, भण्डारण र व्यवस्थापनमा भएको घोटालामा संलग्न आठ जना कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको छ।

अस्पतालको फार्मेसी शाखामा कार्यरत कर्मचारीहरूले औषधि आपूर्तिकर्ता कम्पनीहरूसँग मिलेमतो गरी अस्पतालमा औषधि नै आपूर्ति नभई बिल तथा बिजकलाई सफ्टवेयरमा प्रविष्टि गर्ने, करोडौं रुपैयाँ बराबरका औषधि म्याद गुज्रिएर स्टोर र भर्‍याङमा थन्किंदा पनि व्यवस्थापन नगर्ने तथा कम्प्युटरमा स्टक देखाइएका औषधि वास्तविक मौज्दातमा नरहेको पाइएको छ।

अस्पताल फार्मेसी सेवा निर्देशिका, २०७२ अनुसार प्रत्येक आर्थिक वर्षको अन्त्यमा खरिद, बिक्री र बाँकी रहेको औषधिको सन्तुलन परीक्षण (ट्रायल ब्यालेन्स) तयार गर्नुपर्ने व्यवस्था छ। तर सम्बन्धित कर्मचारीहरूले उक्त कानुनी व्यवस्था पालना नगरेको र यो विषय महालेखा परीक्षकको आर्थिक वर्ष २०७७/०७८ को प्रतिवेदनमै औंल्याइएको अख्तियारले जनाएको छ।

अख्तियारका अनुसार आपूर्तिकर्तासँग भएको सम्झौताअनुसार चार महीनाभित्र म्याद सकिने वा बिक्री नभई म्याद गुज्रिएका औषधि सम्बन्धित कम्पनीले प्रतिस्थापन गर्नुपर्ने व्यवस्था थियो। साथै त्यस्ता औषधि तत्काल फिर्ता गर्न फार्मेसी युनिट इन्चार्जलाई अस्पतालका कार्यकारी निर्देशकले जिम्मेवारी दिएका थिए। तर जिम्मेवार कर्मचारीहरूले म्याद सकिएका औषधि फिर्ता नगरी सोधभर्नासमेत नलिएको भेटिएको छ।

अनुसन्धानका क्रममा अर्को गम्भीर लापरवाही पनि खुलेको छ। आपूर्तिकर्ता कम्पनीहरूले धरौटी फिर्ता माग्दा लेखा शाखाले फार्मेसी शाखासँग म्याद सकिएका औषधि बाँकी छन् वा छैनन् भनेर राय माग्ने गरेको थियो। तर फार्मेसी शाखाका जिम्मेवार कर्मचारीहरूले स्टोरमै म्याद सकिएका औषधि हुँदाहुँदै पनि त्यस्ता औषधि नरहेको भन्दै गलत लिखित जानकारी दिएका कारण सम्बन्धित कम्पनीहरूको धरौटीबाट कट्टी हुनुपर्ने रकमसमेत कट्टी नगरी फिर्ता गरिएको अख्तियारले जनाएको छ।

अस्पतालका मेडिकल डिभिजन प्रमुखको नेतृत्वमा गठित समितिले गरेको विस्तृत अध्ययनले २ करोड ९१ लाख ३४ हजार ५४७ रुपैयाँ ३७ पैसा बराबरको सार्वजनिक सम्पत्तिमा हानी–नोक्सानी पुगेको निष्कर्ष निकालेको थियो। सोही आधारमा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियारले फार्मेसी युनिट इन्चार्ज दिपा ढुङ्गाना, लबेन्द्र कुँवर, दिनेश पन्त, दिपक सापकोटा, स्टोर किपर विनोद पोखरेल, शर्मीला श्रेष्ठ, केशव राज न्यौपाने तथा फार्मेसी सहायक सन्दिप तिवारी विरुद्ध मुद्दा चलाएको छ। उनीहरूमाथि २ करोड ९१ लाख ३४ हजार ५४७ रुपैयाँ ३७ पैसा बिगो कायम गरी सोही बराबर जरिवाना, कैद तथा बिगो असुलउपरको माग गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*