‘बालेनको पुलिस होइन’ भन्ने डीएसपीलाई जिल्ला बोलाएर सोधपुछ

काठमाडौं । कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रसन्नराज चौधरीलाई उनले सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिबारे सोधपुछ गर्न जिल्ला प्रहरी कार्यालय कैलालीमा बोलाइएको छ।
केही दिनअघि एक विद्यालयमा आयोजित कार्यक्रममा बोल्दै डीएसपी चौधरीले, ‘हामी बालेनको पुलिस पनि होइन, हामी नेपाल पुलिस हो। अन्याय–अत्याचारमा परेकालाई न्याय दिलाउने नेपाल पुलिस हो। र केपी ओलीलाई थुन्ने पुलिस पनि यही हो। त्यसकारण हामी नेपाल पुलिस हो,’ भन्ने अभिव्यक्ति दिएका थिए। उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसको व्यापक चर्चा र आलोचना भएको थियो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले डीएसपी चौधरीलाई जिल्ला प्रहरी कार्यालयमा बोलाइएको पुष्टि गर्दै उनीसँग उक्त अभिव्यक्तिबारे पनि सोधपुछ गरिने बताए।
डीएसपी चौधरीलाई अन्य प्रशासनिक विषयका लागि पनि बोलाइएको भए पनि सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्ति नै अहिले सोधपुछको मुख्य विषय बनेको प्रहरीले जनाएको छ।











