गरिमा विकास बैंकको रेटिङ ‘ट्रिपल बी माइनस’ मा यथावत्

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडको जारीकर्ता साख मूल्यांकन पुनः पुष्टि गरिएको छ। इक्रा नेपालले बैंकको जारीकर्ता साख मूल्यांकन ‘ट्रिपल बी माइनस’ लाई यथावत् राखेको हो । यस स्तरको मूल्यांकन प्राप्त संस्थालाई आफ्ना वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमताका हिसाबले मध्यम स्तरको सुरक्षित मानिने तथा मध्यम साख जोखिम रहेको संस्थाका रूपमा हेरिन्छ।
सन् २००७ देखि सञ्चालनमा रहेको गरिमा विकास बैंकको पर्याप्त कार्यअनुभव, देशभर फैलिएको शाखा सञ्जाल तथा अनुभवी व्यवस्थापन टोलीलाई मूल्यांकनको प्रमुख आधार बनाइएको छ। मध्य अप्रिल २०२६ सम्म बैंकका १२६ शाखा सञ्चालनमा रहेका छन्। त्यस्तै, बैंकको पुँजी पर्याप्तता अनुपात १३ प्रतिशत तथा प्रथम तहको पुँजी अनुपात १० दशमलव ९३ प्रतिशत रहेको छ, जुन नियामक निकायले तोकेको न्यूनतम ११ प्रतिशत र ८ दशमलव ५ प्रतिशतको व्यवस्थाभन्दा माथि रहेको उल्लेख गरिएको छ।
बैंकको निक्षेप संरचनामा चालु तथा बचत खाताको हिस्सा विकास बैंक उद्योगको औसतभन्दा राम्रो रहेकाले स्रोतको लागत प्रतिस्पर्धी रहनुका साथै आधार ब्याजदर पनि समकक्षी संस्थाभन्दा न्यून रहेको मूल्यांकनमा जनाइएको छ। सञ्चालन खर्च नियन्त्रणमा राख्न सफल भएकाले पनि बैंकको वित्तीय अवस्था सुदृढ बनेको उल्लेख छ। पछिल्ला वर्षहरूमा बैंकको कर्जा विस्तार विकास बैंक उद्योगको औसतभन्दा उच्च रहे पनि समग्र बैंकिङ उद्योगको वृद्धिदरसँग भने धेरै हदसम्म मेल खाने देखिएको छ।
बैंकको कर्जा तथा निक्षेपमा ग्राहक एकाग्रता पनि न्यून रहेको छ। मध्य अप्रिल २०२६ सम्म शीर्ष २० ग्राहकमा कुल कर्जाको करिब ५ प्रतिशत र कुल निक्षेपको करिब ८ प्रतिशत मात्र केन्द्रित रहेको मूल्यांकनमा उल्लेख गरिएको छ। तुलनात्मक रूपमा राम्रो कर्जा प्रतिफल, उच्च खुद ब्याज आम्दानी मार्जिन तथा नियन्त्रणमा रहेको सञ्चालन खर्चका कारण बैंकको नाफा आर्जन क्षमता पनि सन्तोषजनक रहेको इक्रा नेपालको निष्कर्ष छ।
यद्यपि बैंकको सम्पत्ति गुणस्तरमा देखिएको निरन्तर दबाबका कारण मूल्यांकनलाई ‘नकारात्मक प्रभावसहित निगरानी’ अवस्थामै राखिएको हो। मध्य अप्रिल २०२६ सम्म बैंकको कुल निष्क्रिय कर्जा ४ दशमलव ७७ प्रतिशत रहेको छ, जुन मध्य अप्रिल २०२५ मा ४ दशमलव ७८ प्रतिशत थियो। यस अवधिमा कर्जा पोर्टफोलियो विस्तार भए पनि निष्क्रिय कर्जाको अनुपात उल्लेख्य रूपमा घट्न सकेको छैन। त्यसैगरी, शून्य दिनभन्दा बढी अवधिको भुक्तानी बक्यौता करिब २६ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्ष करिब २७ प्रतिशत थियो। यससँगै बैंकको खुद निष्क्रिय कर्जा र खुद सम्पत्तिबीचको अनुपात करिब १० प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष करिब ७ प्रतिशत थियो। यसले बैंकको वित्तीय सहनशीलतामा केही दबाब देखाएको मूल्यांकनमा उल्लेख छ।
त्यसैगरी, मध्य अप्रिल २०२६ सम्म बैंकको कर्जा–निक्षेप अनुपात करिब ८७ प्रतिशत रहेको छ, जुन नियामकले तोकेको ९० प्रतिशतको सीमाको नजिक भएकाले ब्याजदरमा प्रतिकूल परिवर्तन आएमा तरलतामा दबाब पर्न सक्ने सम्भावनातर्फ पनि इक्रा नेपालले ध्यानाकर्षण गराएको छ।
गरिमा विकास बैंक लिमिटेडको स्थापना सन् २००७ को अक्टोबरमा क्षेत्रीय स्तरको विकास बैंकका रूपमा भएको हो। पछि बैंकले दुई क्षेत्रीय स्तरका ‘ख’ वर्गका विकास बैंकसँग एकीकरण गर्दै आफ्नो कार्यक्षेत्र विस्तार गरेको थियो। सन् २०१५ जुलाई १४ मा निलगिरि विकास बैंक लिमिटेड र सन् २०१६ सेप्टेम्बर २० मा शुभेच्छा विकास बैंक लिमिटेडसँग एकीकरणपछि बैंक राष्ट्रिय स्तरको ‘ख’ वर्गको विकास बैंक बनेको हो।
राष्ट्रिय स्तरको विकास बैंकमा स्तरोन्नति भएपछि बैंकले आफ्नो केन्द्रीय कार्यालय पोखराबाट काठमाडौंको लाजिम्पाटमा स्थानान्तरण गरेको थियो। त्यसपछि सन् २०२१ नोभेम्बरमा बैंकले सहारा विकास बैंक लिमिटेडलाई पनि प्राप्ति गरेको थियो। बैंकको चुक्ता पुँजीमा संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण लगानीकर्ताको ४९ प्रतिशत स्वामित्व रहेको छ। मध्य अप्रिल २०२६ सम्म बैंकले देशभर १२६ शाखामार्फत सेवा प्रदान गरिरहेको छ। सोही अवधिसम्म विकास बैंक उद्योगमा सञ्चालनमा रहेका १७ विकास बैंकमध्ये निक्षेप संकलन र कर्जा प्रवाह दुवैका आधारमा गरिमा विकास बैंकको बजार हिस्सा करिब १५–१५ प्रतिशत रहेको छ।











