बाइकमा ‘ह्वील लक’ लगाएपछि पठाओ चालकले आफ्नै शरीरमा पेट्रोल खन्याएर लगाए आगो

काठमाडौं । राइड सेयरिङ चालकको मोटरसाइकलमा ‘ह्वील लक’ लगाएपछि आत्मदाहको प्रयास भएको छ । बिहीबार दिउँसो काठमाडौं महानगरपालिका–११ त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि मुगुको सोरु गाउँपालिका–१ घर भई हाल भक्तपुर बस्दै आएका २५ वर्षीय गणेश नेपालीले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका हुन् ।
उनी दैनिक पठाओ (राइड सेयरिङ) सेवा सञ्चालन गरेर जीविकोपार्जन गर्दै आएका थिए । प्रारम्भिक जानकारीअनुसार यात्रु कुर्ने तथा पु-याउने क्रममा केहीबेर मोटरसाइकल रोकेको भन्दै काठमाडौं महानगरपालिकाका नगर प्रहरीले पार्किङ निषेधित क्षेत्र भएको जनाउँदै मोटरसाइकलमा ‘ह्वील लक’ लगाएका थिए । त्यसपछि भएको विवाद र तनावका बीच गणेशले मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा खन्याई आगो लगाएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा खटिएका नेपाल प्रहरीले तत्काल आगो निभाएर उनलाई उद्धार गर्दै उपचारका लागि वीर अस्पतालको बर्न युनिटमा पु¥याएको थियो । उनको शरीरका विभिन्न भाग जलेका छन् भने हाल उनी सामान्य रूपमा बोल्न सक्ने अवस्थामा रहेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
घटनापछि सामाजिक सञ्जालमा सरकारको कार्यशैलीमाथि तीव्र आलोचना भइरहेको छ । धेरैले सामान्य प्रशासनिक कारबाहीका कारण एक श्रमिक आत्मदाहजस्तो चरम कदम चाल्न बाध्य हुनु राज्य संयन्त्रको असफलता भएको टिप्पणी गरेका छन् । नागरिकको मानसिक अवस्था, श्रमिकको दैनिकी र संवेदनशील परिस्थितिलाई बेवास्ता गर्दै दण्डमुखी नीति अपनाइएको भन्दै विरोध भइरहेको छ ।
दिउसै सर्वसाधारणले आत्मदाहको प्रयास गरेको विषयमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले भने आफुले थप कुरा बुझ्न बाँकी रहेको हुँदा तत्काल प्रतिक्रिया जनाउन चाहेनन् ।











