अध्ययन नै नगरी नक्कली प्रमाणपत्रले जागिर र बढुवा खाएका वडासचिव विरुद्ध मुद्दा

काठमाडौं । भारतबाट जारी भएको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गर्नुका साथै पटक–पटक बढुवा र तहवृद्धि लिएको आरोपमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–२ का वडा सचिव हिरालाल काफ्लेविरुद्ध भ्रष्टाचार मुद्दा चलेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। अख्तियारका अनुसार काफ्लेले भारतको आसाम राज्यस्थित बोर्ड अफ सेकेन्डरी एजुकेसन, आसामबाट सन् १९९८ मा एसएलसी सरहको एचएसएलसी (रिपिटर्स) परीक्षा उत्तीर्ण गरेको भन्दै झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेका थिए।
उक्त नक्कली प्रमाणपत्रकै आधारमा उनी २०५७ जेठ २ गते तत्कालीन अर्जुनचौपारी गाउँ विकास समितिमा कार्यालय सहायक पदमा अस्थायी नियुक्ति भएका थिए। त्यसपछि २०६४ साउन ६ गते कार्यालय सहायक (खरिदार) पदमा पुनः अस्थायी नियुक्ति, २०६७ कात्तिक १५ गते स्थायी नियुक्ति, २०७२ माघ १ गते खरिदार पदमा बढुवा तथा २०७९ माघ १० गते सहायकस्तर पाँचौं तहमा तहवृद्धिसमेत लिएको अख्तियारले जनाएको छ।
अनुसन्धानबाट उनले अध्ययन नै नगरेको तर भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र बनाएर ल्याएर त्यसैको आधारमा सरकारी सेवामा प्रवेश गरी आफूले कानुनअनुसार नपाउने पद, ओहदा, तलब, भत्ता र अन्य सुविधा लिएको भेटिएपछि उनीविरुद्ध मुद्दा चलेको अख्तियारले जनाएको छ। अख्तियारले उनीविरुद्ध साविक भ्रष्टाचार निवारण ऐन, २०१७ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुरमा मुद्दा चलाएको हो।











