ऋण लिएर मार्केटमा लगानीः ४७ कम्पनीको शेयर धितो कर्जा १ खर्ब ६२ अर्ब, नेप्सेमा प्रभाव खोइ?

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने शेयर धितो कर्जा निरन्तर बढ्दै गए पनि त्यसको प्रत्यक्ष प्रभाव नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा देखिन सकेको छैन ।
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कअनुसार जेठ मसान्तसम्म शेयर धितोमा प्रवाह भएको कर्जा १ खर्ब ६२ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.५९ प्रतिशतले बढी हो । गत वर्षको ११ महिनासम्म यस्तो कर्जा १ खर्ब २८ अर्ब ६५ करोड रुपैयाँमा सीमित थियो । यसले बैंकिङ प्रणालीबाट शेयर धितो कर्जा विस्तार तीव्र गतिमा भइरहेको देखाए पनि पूँजीबजारमा त्यसअनुरूप नयाँ लगानीको प्रवाह भने देखिएको छैन ।
शेयर धितो कर्जा बढ्दै जाँदा सामान्यतः बजारमा खरिद क्षमता विस्तार हुने र त्यसले शेयर कारोबार तथा सूचकमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिन्छ । तर पछिल्ला महिनाहरूमा नेप्से परिसूचक अपेक्षाकृत सुस्त रहँदै आएको छ भने दैनिक कारोबार रकम पनि निरन्तर खुम्चिएको अवस्था छ । यसले बैंकबाट प्रवाह भएको सम्पूर्ण कर्जा शेयर खरिदमा प्रयोग नभई अन्य व्यक्तिगत वा व्यावसायिक प्रयोजनमा गएको हुन सक्ने संकेत गरेको छ । लगानीकर्ताले शेयर धितोमा लिएको रकम बजारमा पुनः लगानी गर्नुभन्दा अन्य वित्तीय दायित्व व्यवस्थापन, व्यवसाय विस्तार वा व्यक्तिगत खर्चमा प्रयोग गरिरहेको अनुमान पनि गरिएको छ ।
पछिल्लो समय लगानीकर्ताको मनोबल कमजोर कमजोर छ । चैत १३ गते गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको करिब दुई तिहाइ बहुमतको सरकारबाट आर्थिक सुधार, पूँजीबजारमैत्री नीति तथा लगानीमैत्री वातावरण निर्माण हुने अपेक्षा गरिएको थियो । तर सरकार गठनपछि पनि बजारले स्पष्ट सकारात्मक दिशा लिन नसक्दा लगानीकर्तामा निराशा बढेको देखिन्छ । नीतिगत स्पष्टता, पूँजीबजार सुधारका कार्यक्रम र लगानीमैत्री निर्णयहरू अपेक्षित गतिमा अघि नबढ्दा बजारमा नयाँ उत्साह सिर्जना हुन सकेको छैन ।
यसैबीच सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले धितोपत्र कारोबारसँग सम्बन्धित गतिविधिमाथि अनुसन्धान तीव्र बनाएपछि पनि बजारमा मनोवैज्ञानिक दबाब बढेको छ । अनुसन्धानलाई नियामकीय प्रणाली सुदृढ बनाउने प्रयासका रूपमा हेरिए पनि केही लगानीकर्ताले त्यसलाई जोखिमको संकेतका रूपमा लिएका छन् । परिणामस्वरूप ठूलो रकम भएका लगानीकर्तासमेत नयाँ लगानी विस्तारमा सतर्क देखिएका छन् भने कारोबार गर्ने प्रवृत्तिमा पनि संकुचन आएको छ ।
बैंक तथा वित्तीय संस्थाले आफ्ना आन्तरिक नीतिअनुसार सूचीकृत शेयरलाई धितो स्वीकार गरी कर्जा प्रवाह गर्ने व्यवस्था छ । लगानीकर्ताले आफ्नो स्वामित्वमा रहेको शेयर वा भविष्यमा खरिद गरिने शेयरका आधारमा समेत कर्जा लिन सक्ने भए पनि उक्त रकम अनिवार्य रूपमा शेयर बजारमै लगानी गर्नुपर्ने कानुनी व्यवस्था छैन । यही कारण शेयर धितो कर्जाको वृद्धिलाई बजारमा नयाँ पूँजी प्रवेशको प्रत्यक्ष सूचकका रूपमा लिन कठिन हुने विश्लेषण गरिएको छ । कर्जा लिने उद्देश्य र त्यसको वास्तविक उपयोग फरक–फरक हुने भएकाले कर्जा विस्तार र बजारको गतिविधिबीच प्रत्यक्ष सम्बन्ध सधैँ देखिँदैन ।
कुन संस्थाले कति प्रवाह गरे शेयर धितो कर्जा ?
चालु आर्थिक वर्षको ११ महिनामा १५ बैंक तथा वित्तीय संस्थाको शेयर धितोकर्जा घटेको छ भने ३२ वटाको वृद्धि भएको छ ।
सर्वाधिक शेयर धितो कर्जा दिनेमा नबिल बैंक अघि रहेको छ । बैंकको शेयर धितोकर्जा १६.२९ प्रतिशतले बढेर १७ अर्ब ५३ करोड रुपैयाँ पुगेको हो ।
साथै, ग्लोबल आइएमई बैंकको शेयर धितोकर्जा ग्लोबल आइएमई बैंकको २५.३१ प्रतिशतले बढेर १४ अर्ब ५३ करोड, कुमारी बैंकको १०.१५ प्रतिशतले बढेर १० अर्ब ४४ करोड, प्राइम बैंकको २०.६४ प्रतिशतले बढेर ९ अर्ब ८५ करोड, लक्ष्मी सनराइज बैंकको ५४ प्रतिशतले बढेर ९ अर्ब ५० करोड, कृषि विकास बैंकको १४२ प्रतिशतले बढेर ८ अर्ब ६४ करोड, राष्ट्रिय वाणिज्य बैंकको ४० प्रतिशतले बढेर ८ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ ।
समिक्षा अवधिसम्ममा सबैभन्दा कम मल्टिप्रपोज फाइनान्सले ५५ लाख, नेपाल शेयर मार्केटले २ करोड ६१ लाख, पोखरा फाइनान्सले २ करोड ७१ लाख र समृद्धि फाइनान्सले १ १० करोड रुपैयाँ शेयर धितोकर्जा प्रवाह गरेका छन् ।












