देशभर वर्षा र पहिरोको असरः १३ स्थानमा राजमार्ग तथा सडक पूर्ण रूपमा अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो, लेदो र सडक भासिने घटनाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीले सोमबार दिउँसो १ः२० बजेसम्म १३ स्थानका सडकमा सवारी आवागमन प्रभावित भएको जनाएको छ।
प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा अर्को आदेश नभएसम्म बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। यो निर्णय गत जेठ २२ गतेदेखि लागू गरिएको हो।
यसैगरी इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा असार २३ गते बिहान १० बजे वर्षाका कारण सडक हिलाम्मे भएपछि सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ भने मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्याङडाँडास्थित कान्तिलोकपथमा असार २७ गते दिउँसो २ बजे सडकमाथिबाट पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
कास्कीको मादी गाउँपालिका–२ ज्याम्दोस्थित पोखरा–ताङतिङ सडक खण्डमा असार २७ गते साँझ ५ः३० बजे सडकमुनि लगाइएको तारजालीको ग्याबिन वाल भत्किँदा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ ढुङ्ग्रेखोलास्थित सालझण्डी–ढोरपाटन सडकमा असार २८ गते साँझ ७ बजे माथिबाट ढुङ्गा खसेपछि सडक पूर्ण रूपमा बन्द भएको छ।
गुल्मीको छत्रकोट गाउँपालिका–३ काउलेस्थित मदन भण्डारी राजमार्गमा आइतबार बिहान करिब ४ः४० बजे पहिरो खसेपछि सवारी आवागमन ठप्प भएको छ। यता सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्गमा रहेको इकु पहिरो क्षेत्रमा वर्षाका कारण करिब १५ मिटर सडक पाँच फिटसम्म भासिएपछि आइतबार बिहान ५ बजेदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
हुम्लाको खार्पुनाथ गाउँपालिका–५ बिसौनीस्थित कर्णाली करिडोरमा माथिबाट आएको लेदो सहितको पहिरोले सडक पूर्ण रूपमा बन्द भएको छ। त्यसैगरी गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्सेस्थित कालीगण्डकी करिडोरमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ। कालिकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलास्थित कर्णाली राजमार्गमा आइतबार बिहान करिब ६ः५० बजे ढुङ्गा, माटो र लेदो सहितको पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द भएको छ।
ललितपुरको बागमती गाउँपालिका–३ अन्तर्गत भट्टेडाँडाको पाङदुर र टाकुर्चे क्षेत्रमा पहिरो खस्दा कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ। सोही गाउँपालिकाको भालुखोला क्षेत्रमा पनि पहिरो गएपछि कान्तिलोकपथको अर्को खण्डमा सवारी सञ्चालन ठप्प भएको प्रहरीले जनाएको छ। यस्तै पाँचथरको याङवरक गाउँपालिका–१, २ र ३ अन्तर्गत पर्ने मध्यपहाडी लोकमार्गमा असार २८ गते रातिदेखिको अविरल वर्षापछि ओयाम, फलामे र दोभाने खोलामा माथिबाट पहिरो झर्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।











