बिक्री हाबी हुँदा नेप्से राताम्मे, एकैदिन ३० अंकको भारी गिरावट

२९ असार २०८३, सोमबार १५:०३

काठमाडौं । नेपाली शेयर बजारमा पछिल्ला दिनहरूमा बिक्रीको दबाब लगातार बढ्दै गएको छ। साउनदेखि लागू हुने नयाँ कर व्यवस्था, अपेक्षाअनुसार आउन नसकेको मौद्रिक नीति तथा असार मसान्तको नगद व्यवस्थापनको चापले लगानीकर्ताको मनोबल कमजोर बनाएको छ।

नयाँ कर व्यवस्थाले लगानीकर्तामाथि थप आर्थिक भार पर्ने अनुमानसँगै धेरैले असारभित्रै शेयर बिक्री गरेर जोखिम घटाउने रणनीति अपनाएका छन्। बजारमा नयाँ खरिदकर्ताभन्दा बिक्रीकर्ता बढी सक्रिय देखिँदा कारोबारमा दबाब बढिरहेको छ।

सरकार परिवर्तनसँगै आर्थिक नीतिमा सुधार आउने र पूँजीबजारमैत्री निर्णय हुने अपेक्षा गरिएको थियो। आगामी आर्थिक वर्षको बजेट र त्यसपछि आएको मौद्रिक नीतिले पनि बजारलाई प्रत्यक्ष राहत दिने व्यवस्था गर्ने विश्वास लगानीकर्तामा थियो। तर बजेटले पूँजीबजारका लागि उल्लेखनीय कार्यक्रम ल्याउन नसकेको र मौद्रिक नीतिले पनि लगानीकर्ताले अपेक्षा गरेका विषय समेट्न नसकेपछि बजारमा निराशा बढेको छ।

लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाका सहायक कम्पनीलाई दोस्रो बजारमा प्रवेशको अनुमति, संस्थागत लगानीकर्ताको सहभागिता विस्तार, बैंकहरूको शेयर लगानी सीमा पुनरावलोकन तथा बीमा कम्पनी, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता संस्थालाई बजारमा थप सक्रिय बनाउने व्यवस्था आउने अपेक्षा गरेका थिए। तर राष्ट्र बैंकले बैंकिङ प्रणाली, कर्जा विस्तार र उत्पादनशील क्षेत्रमा लगानी प्रवाहलाई प्राथमिकता दिँदा पूँजीबजारसँग सम्बन्धित मागहरू सम्बोधन हुन सकेनन्।

यससँगै असार मसान्तमा कर, ऋण तथा अन्य वित्तीय दायित्व पूरा गर्न नगद आवश्यक पर्ने भएकाले पनि धेरै लगानीकर्ता शेयर बिक्री गर्न बाध्य भएको विश्लेषण गरिएको छ। सरकार गठनपछि आर्थिक सुधारप्रति देखिएको आशा व्यवहारमा रूपान्तरण हुन नसक्दा लगानीकर्ताको आत्मविश्वास अझै पूर्ण रूपमा फर्किन सकेको छैन।

आज नेप्से परिसूचक ३०.६० अंकले घटेर २५७०.१८ को विन्दुमा झरेको छ। यसदिन सूचीकृत ३६८ कम्पनीहरूको ४ करोड १७ लाख २५ हजार ३२३ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४६ करोड ८४ लाख १६ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ। आज १३ वटै उपसूचक राताम्मे बन्दा जम्मा २२ कम्पनीको शेयरमूल्य बढेको छ भने २४९ कम्पनीको शेयरमूल्यमा गिरावट आएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*