सातै प्रदेशमा सुविधासम्पन्न जलन उपचार केन्द्र स्थापना गर्न बालेन शाहको निर्देशन

काठमाडौं । बालेन्द्र शाह (बालेन) ले देशका सातै प्रदेशमा आधुनिक सुविधासहितका बर्न (जलन) उपचार केन्द्र स्थापना गर्ने प्रक्रिया तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको छलफलमा बालेनले प्रमुख सरकारी अस्पतालमा रहेका बर्न वार्डलाई पनि थप सुदृढ र प्रभावकारी बनाउन निर्देशन दिएका छन्।
शाहले गम्भीर प्रकृतिका जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने वातावरण सुनिश्चित गर्न संघ, प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए। त्यसैगरी स्वास्थ्य सेवा सरकारको उच्च प्राथमिकतामा रहेको बताउँदै अस्पतालको सरसफाइ, सेवा प्रवाहमा सुधार, डिजिटल प्रविधिको अधिकतम प्रयोग तथा सुशासनलाई प्रभावकारी रूपमा लागू गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
त्यसैगरी आर्थिक रूपमा कमजोर, विपन्न तथा असहाय नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाउन निजी अस्पतालले ओपिडी सेवाको कम्तीमा १० प्रतिशत सहुलियतपूर्ण रूपमा उपलब्ध गराउने कानुनी व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि निर्देशन दिइएको छ।
छलफलका क्रममा विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूले चिकित्सा शिक्षाको गुणस्तर सुधार, विशेषज्ञ स्वास्थ्य सेवा विस्तार, दक्ष जनशक्ति व्यवस्थापन, अस्पतालको सरसफाइ, अनुसन्धान प्रवद्र्धन तथा पूर्वाधार विकासका विषयमा सुझाव प्रस्तुत गरेका थिए।
उनीहरूले स्वास्थ्य क्षेत्रमा डिजिटल रूपान्तरण, अस्पताल सूचना व्यवस्थापन प्रणालीको प्रभावकारी कार्यान्वयन तथा केही प्रतिष्ठानको जग्गा अतिक्रमणका कारण संस्थागत विकासमा परेको असरबारे पनि बालेनसमक्ष जानकारी गराएका थिए। बैठकमा पाटन, राप्ती, पोखरा, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपतिहरूको सहभागिता रहेको थियो।











