यातायात कार्यालयको थोत्रो सिस्टमको चपेटामा नागरिक, सर्भर डाउन हुँदा सेवा ठप्प

२९ असार २०८३, सोमबार १६:२७

काठमाडौं । सरकार फेरिन्छन्, मन्त्री फेरिन्छन्, नीति र प्राथमिकताका भाषण फेरिन्छन् । तर, सेवाग्राहीले सरकारी कार्यालयमा भोग्ने सास्ती भने फेरिएको छैन। विशेषगरी यातायात व्यवस्था कार्यालयमा पुग्ने हजारौं नागरिकका लागि ‘सिस्टम डाउन’, ‘सर्भर चलेको छैन’, ‘पछि आउनुस्’ भन्ने वाक्य अझै पनि दैनिक नियति बनेको छ।

यातायात व्यवस्था विभागले सोमबार सूचना जारी गर्दै सर्भरमा समस्या आएको भन्दै अर्को सूचना नभएसम्म सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण, दुई पांग्रे सवारी साधनको ब्लुबुक नवीकरण तथा लिखित परीक्षालगायतका सेवाहरू स्थगित गरेको जनाएको छ। विभागका प्रवक्ता गणेशमान सिंह राईका अनुसार आर्थिक वर्षको अन्त्यसँगै प्रणाली अद्यावधिक (अपडेट) गर्नुपर्ने र सर्भरमा प्राविधिक समस्या देखिएकाले सेवा अस्थायी रूपमा रोक्नुपरेको हो।

तर, विभागको यो स्पष्टीकरणले सेवाग्राहीको पीडा भने कम गरेको छैन। बिहानैदेखि लाइनमा बसेका नागरिक दिनभर पालो कुर्दाकुर्दै सेवा नपाई घर फर्किन बाध्य भएका छन्। कार्यालय परिसरमा सेवाग्राहीको भीड, अन्योल र आक्रोश एकैसाथ देखिएको छ।

देश डिजिटल शासनतर्फ अघि बढिरहेको दाबी भइरहँदा सबैभन्दा धेरै नागरिकसँग प्रत्यक्ष सम्बन्ध राख्ने सरकारी सेवा अझै सामान्य सर्भर समस्याबाट प्रभावित हुनु विडम्बनापूर्ण भएको सेवाग्राहीहरूको भनाइ छ। हरेक वर्ष आर्थिक वर्षको अन्त्यमा वा नयाँ आर्थिक वर्ष सुरु हुने बेला यस्तै समस्या दोहोरिने गरेको उनीहरू बताउँछन्।

राधेराधे यातायात व्यवस्था कार्यालयमा भेटिएका सेवाग्राहीहरूका अनुसार नयाँ आर्थिक वर्ष सुरु भएपछि कर वा शुल्क बढ्न सक्ने आशंकाले धेरै नागरिक अहिले नै नवीकरण तथा अन्य सेवा लिन कार्यालय पुगेका छन्। तर, कार्यालय पुगेपछि भने सेवा बन्द भएको जानकारी पाएर निराश हुनुपरेको उनीहरूको गुनासो छ।

यातायात व्यवस्था कार्यालयहरूमा पछिल्ला वर्षहरूमा सेवा विस्तारका विभिन्न घोषणा भए पनि व्यवहारमा भने सुधार अपेक्षाअनुसार हुन सकेको छैन। अनलाइन आवेदन, डिजिटल रेकर्ड, विद्युतीय भुक्तानीजस्ता प्रणाली लागू गरिए पनि ती सबैको आधारभूत संरचना कमजोर हुँदा सानो प्राविधिक समस्याले समेत सम्पूर्ण सेवा अवरुद्ध हुने गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*