सामसङ नेपालद्वारा ग्यालेक्सी ए२७ फाइभजी सार्वजनिक, एआई सहित यस्ता छन् विशेषता

२९ असार २०८३, सोमबार १७:०८

काठमाडौं । सामसङ नेपालले नेपाली बजारमा नयाँ ग्यालेक्सी ए२७ फाइभजी सार्वजनिक गरेको छ। कम मूल्यमा अत्याधुनिक एआई (कृत्रिम बुद्धिमत्ता) सुविधा, आकर्षक डिजाइन, भरपर्दो कार्यसम्पादन, मजबुत सुरक्षा तथा ६ वर्षसम्मको सफ्टवेयर सपोर्ट उपलब्ध गराउने लक्ष्यसहित कम्पनीले आफ्नो ग्यालेक्सी ए सिरिजअन्तर्गत यो नयाँ स्मार्टफोन बजारमा ल्याएको हो।

सामसङ नेपालका एमएक्स बिजनेसका सिनियर डाइरेक्टर प्रणय रत्न स्थापितले नयाँ ग्यालेक्सी ए सिरिजले एआई प्रविधिलाई धेरैभन्दा धेरै प्रयोगकर्ताको पहुँचमा पुर्‍याउने सामसङको प्रतिबद्धतालाई थप बलियो बनाएको बताए। उनका अनुसार ग्यालेक्सी ए२७ फाइभजीमा समावेश गरिएको ‘असम इन्टेलिजेन्स’ सुविधाले दैनिक प्रयोगलाई अझ सहज, स्मार्ट र प्रभावकारी बनाउनेछ।

उनले २४ महिनासम्मको किस्ता सुविधासहित कम्पनीले अत्याधुनिक प्रविधिलाई अझ किफायती रूपमा ग्राहकसम्म पुर्‍याउन खोजेको उल्लेख गरे। ग्यालेक्सी ए२७ फाइभजीमा ७.८ मिलिमिटर स्लिम डिजाइनसहित ६.७ इन्चको एफएचडी प्लस सुपर एमोलेड डिस्प्ले दिइएको छ। १२० हर्जसम्मको रिफ्रेस रेट र नयाँ इन्फिनिटी–ओ पञ्च–होल डिजाइनले भिडियो हेर्ने, गेम खेल्ने तथा अन्य सामग्री प्रयोग गर्दा अझ उत्कृष्ट दृश्य अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।

यो स्मार्टफोन लाइट ग्रीन, लाइट पिङ्क र ब्ल्याक रङमा उपलब्ध हुनेछ। फोनमा फोर न्यानोमिटर स्न्यापड्रागन सिक्स जेन थ्री अक्टा–कोर प्रोसेसर प्रयोग गरिएको छ। यसले धेरै एप एकैपटक सञ्चालन गर्ने, भिडिओ स्ट्रिमिङ गर्ने तथा एआईमा आधारित एपहरू सहज रूपमा चलाउन सक्षम बनाउने कम्पनीले जनाएको छ।

फोनमा भ्वाइस ट्रान्सक्रिप्सन सुविधा पनि उपलब्ध छ जसले बैठक, कक्षा वा अन्य कुराकानीलाई स्वतः पाठमा रूपान्तरण गर्न सहयोग गर्छ। साथै गुगल जेमिनी र पप्र्लेक्सिटी जस्ता एआई सहायकहरूसँग पनि यसले काम गर्नेछ जसको एकीकरण ग्यालेक्सीका आफ्नै एपहरूसँग गरिएको बताएको छ।

ग्यालेक्सी ए२७ फाइभजीमा ५० मेगापिक्सेल ओआईएस मुख्य क्यामेरा, ५ मेगापिक्सेल अल्ट्रा–वाइड क्यामेरा, २ मेगापिक्सेल म्याक्रो क्यामेरा तथा १२ मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको छ। फोनमा ५ हजार एमएएच क्षमताको ब्याट्री र २५ वाट फास्ट चार्जिङ सुविधा उपलब्ध छ। साथै एन्ड्रोइड १६ मा आधारित वान यूआई ८.५, सामसङ नक्स भल्ट सुरक्षा प्रणाली तथा आईपी–६४ स्तरको पानी र धुलो प्रतिरोधी क्षमता पनि समावेश गरिएको छ।

ग्यालेक्सी ए२७ फाइभजीको ६ जीबी र्याम र १२८ जीबी स्टोरेज संस्करणको मूल्य ५५ हजार ९९९ रुपैयाँ तोकिएको छ। यसमा १२ महिनाको किस्ता रकम २ हजार ५५० रुपैयाँ तथा २४ महिनाको किस्ता १ हजार ५१९ रुपैयाँ प्रतिमहिना पर्नेछ। त्यसैगरी ८ जीबी र्याम र ५१२ जीबी स्टोरेज संस्करणको मूल्य ६९ हजार ९९९रुपैयाँ निर्धारण गरिएको छ। यसमा १२ महिनाको किस्ता ३ हजार २५० रुपैयाँ र २४ महिनाको किस्ता १ हजार ८९९ रुपैयाँ प्रतिमहिना हुनेछ।

सामसङले नयाँ फोन खरिदलाई थप आकर्षक बनाउन पुरानो फोन साट्ने योजना पनि सञ्चालनमा ल्याएको छ। यस योजनाअन्तर्गत ग्राहकले आफ्नो पुरानो फोनको मूल्याङ्कन रकमका अतिरिक्त रु. ८ हजारसम्म एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन्। यसका साथै ग्राहकले १२० जीबी एनसेल डाटा उपहार पाउनेछन् भने सुरुवाती भुक्तानीबिनै २४ महिनाको किस्ता सुविधा मार्फत नयाँ ग्यालेक्सी ए२७ फाइभजी खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*