सञ्चारगृह बाहिर पार्किङ गरिएका शंकास्पद गाडीबारे बोल्यो रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सोमबार विज्ञप्ति जारी गर्दै रास्वपाले सञ्चारमाध्यम र सञ्चारकर्मीलाई मनोवैज्ञानिक दबाबमा राख्ने उद्देश्यले गरिएका यस्ता गतिविधि लोकतान्त्रिक मूल्य–मान्यताविपरीत रहेको उल्लेख गरेको हो।
पार्टीले राज्यको चौथो अंगका रूपमा रहेका सञ्चारमाध्यम र पत्रकारले निर्भीक तथा स्वतन्त्र रूपमा काम गर्न पाउने वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ। कुनै पनि बहानामा प्रेस स्वतन्त्रता हनन गर्ने, सञ्चारगृहमा त्रासको वातावरण सिर्जना गर्ने तथा स्वतन्त्र पत्रकारितालाई संकुचित पार्ने गतिविधि स्वीकार्य नहुने रास्वपाको भनाइ छ।
विज्ञप्तिमा स्वतन्त्र र भयरहित पत्रकारिता लोकतन्त्रको आधार भएकाले प्रेस क्षेत्रलाई त्रसित बनाउने उद्देश्यका यस्ता गतिविधिको भर्त्सना गरिएको छ। साथै घटनाको तत्काल निष्पक्ष र सत्यतथ्य छानबिन गरी सञ्चारमाध्यमको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न, संलग्न व्यक्तिको पहिचान गरी कानुनबमोजिम कारबाही गर्न रास्वपाले नेपाल सरकार, गृह मन्त्रालय तथा सम्बन्धित सुरक्षा निकायसँग माग गरेको छ।












