कालिकोटमा पहिरोले पानीघट्ट पुरिंदा दुई जनाको मृत्यु
२९ असार २०८३, सोमबार १७:५२

काठमाडौं । कालिकोट, सान्नीत्रिवेणी गाउँपालिका–६ काप्रिखोलामा घट्टमाथिबाट आएको पहिरोले पुरिंदा दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही स्थानको धामीगाउँ बस्ने अन्दाजी ४६ वर्षीय मन्दिर सावद र ७६ वर्षीय लालबहादुर सावद रहेका छन्। उनीहरू बिहान काप्रिखोलास्थित पानीघट्टमा अन्न पिस्न गएका थिए। घट्टमा बसिरहेको अवस्थामा माथिबाट आएको पहिरोले पुरिंदा घटनास्थलमै उनीहरूको ज्यान गएको हो।
जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी मेहलमुडी, कालिकोटबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेर उक्त पहिरोमा पुरिएका दुवै जनालाई उद्धार गरी निकालेको थियो। उद्धार गर्दा उनीहरूको मृत्यु भइसकेको प्रहरीले जनाएको छ। पहिरोका कारण घट्टको आधा भागसमेत पुरिएको छ।











