देशभर वर्षा र पहिरो: दर्जनौँ राजमार्ग अवरुद्ध, कतै एकतर्फी त कतै पूर्ण रूपमा बन्द

काठमाडौँ । देशका विभिन्न प्रदेशमा निरन्तरको वर्षा, बाढी र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले सोमबार बिहान ६ः३० बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न सडक खण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ भने केही स्थानमा एकतर्फी सञ्चालन भइरहेको छ।
कोशी प्रदेशमा भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्गमा असार १२ गते आएको बाढीपछि सडक एकतर्फी सञ्चालनमा आएको छ। उक्त क्षेत्रमा वैकल्पिक मार्ग पनि सञ्चालनमा रहेको छ। इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग भने असार २३ गतेदेखि अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध छ र सवारी साधन वैकल्पिक मार्गबाट सञ्चालन भइरहेका छन्। पाँचथरको याङवरक गाउँपालिका–१, २ र ३ क्षेत्रमा रहेको मध्यपहाडी लोकमार्गको ओयाम–फलामे–देउराली सडक खण्ड पनि पहिरोका कारण पूर्ण रूपमा बन्द छ।
काठमाडौं उपत्यकामा ललितपुरको बागमती गाउँपालिका–३ भट्टेडाँडा र भालुखोलास्थित कान्तिलोकपथका दुई स्थान पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्।
बागमती प्रदेशमा सम्भावित बाढीको जोखिमका कारण काभ्रेको खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी हुँदै सञ्चालन हुने बीपी राजमार्गमा असार २२ गतेदेखि सम्पूर्ण सवारी साधन सञ्चालन रोकिएको छ। मकवानपुरको हेटौँडा–भिमफेदी–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाडौं सडक खण्डमा पनि सम्भावित बाढी र पहिरोका कारण सवारी आवागमनमा रोक लगाइएको छ। त्यस्तै हेटौँडा–भीमफेदी–बागमती–ललितपुर हुँदै जाने कान्तिलोकपथमा पनि अर्को सूचना नभएसम्म सवारी सञ्चालन बन्द गरिएको छ।
यसै प्रदेशअन्तर्गत भीमफेदी गाउँपालिका–८ भर्याङडाँडास्थित कान्तिलोकपथ (ललितपुर–हेटौँडा सडक) असार २७ गतेदेखि पहिरोका कारण पूर्ण रूपमा बन्द छ। इन्द्रसरोवर गाउँपालिका–२ स्थित फाखेल–कुलेखानी सडक र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्ग भने एकतर्फी सञ्चालनमा आएका छन्।
गण्डकी प्रदेशमा कास्कीको मादी गाउँपालिका–२ ज्याम्दोस्थित पोखरा–ताङतिङ–थिमी सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ। अन्नपूर्ण गाउँपालिका–८ सार्दीखोलास्थित नौडाँडा–धम्पुस सडक भने एकतर्फी सञ्चालनमा आएको छ।
लुम्बिनी प्रदेशका अर्घाखाँची, गुल्मी र पाल्पासहित विभिन्न जिल्लाका सडकमा पनि पहिरोले असर पुर्याएको छ। अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ ढुङ्गेखोलास्थित सालझण्डी–ढोरपाटन सडक खण्ड पूर्ण रूपमा बन्द छ। गुल्मीको छत्रकोट गाउँपालिका–३ काउलेस्थित मदन भण्डारी राजमार्ग र कालीगण्डकी गाउँपालिका–२ रास्कोटस्थित कालीगण्डकी करिडोर पनि पूर्ण रूपमा अवरुद्ध छन्। पाल्पाको तिनाउ गाउँपालिका–३ हेडबक्सस्थित सिद्धार्थ राजमार्गमा गएको पहिरो पन्छाएपछि सडक एकतर्फी सञ्चालनमा आएको छ।
कर्णाली प्रदेशमा हुम्लाको खार्पुनाथ गाउँपालिका–५ बिसौनीस्थित कर्णाली करिडोर र कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित कर्णाली राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध रहेका छन्।













