दुई महिनाभित्र हेटौँडा कपडा उद्योगबाट परीक्षण उत्पादन सुरु हुने

३० असार २०८३, मंगलवार ११:१०

काठमाडौँ । लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने सरकारी तयारीले गति लिएको छ। सरकारले उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने लक्ष्यसहित प्रारम्भिक चरणमा परीक्षण उत्पादन सुरु गर्ने प्रक्रिया अघि बढाएको हो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा गठित अध्ययन कार्यदलले उद्योग पुनः सञ्चालनसम्बन्धी प्रतिवेदन सोमबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवलाई हस्तान्तरण गरेको छ। मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखाका प्रमुख रामबन्धु सुवेदीको संयोजकत्वमा गठित कार्यदलले उद्योग पुनः सञ्चालनका लागि आवश्यक तयारी, हालसम्मको प्रगति र आगामी कार्ययोजनासहितको प्रतिवेदन बुझाएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार उद्योगको परीक्षण सञ्चालनका लागि आवश्यक प्रारम्भिक तयारी यसअघि नै सुरु भइसकेको छ। अर्थ मन्त्रालयबाट विनियोजित बजेटका आधारमा नेपाली सेनाले उद्योगमा रहेका मेसिनहरूको मर्मत, परीक्षण तथा सञ्चालनपूर्व आवश्यक प्राविधिक तयारी अघि बढाइसकेको छ।

प्रतिवेदनअनुसार सरकारले दिएको निर्देशनबमोजिम नेपाली सेनाले आगामी दुई महिनाभित्र हेटौँडा कपडा उद्योगबाट परीक्षण उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ। सोही समयसीमालाई ध्यानमा राख्दै उद्योगभित्र आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारीलाई तीव्र बनाइएको उल्लेख गरिएको छ।

उद्योग मन्त्रालयको प्रस्तावपछि अर्थ मन्त्रालयले असारको पहिलो सातामै नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालयको खातामा परीक्षण उत्पादनका लागि ३३ लाख रुपैयाँ निकासा गरिसकेको छ। उक्त बजेटबाट परीक्षण उत्पादनका लागि आवश्यक प्रारम्भिक कार्यहरू सञ्चालन गर्न सहज भएको प्रतिवेदनमा उल्लेख छ।

हेटौँडा कपडा उद्योग लामो समयदेखि उत्पादनविहीन अवस्थामा रहँदै आएको छ। उद्योग पुनः सञ्चालनको सरकारी प्रयास सफल भएमा स्वदेशी कपडा उत्पादन वृद्धि, आयात प्रतिस्थापन, रोजगारी सिर्जना तथा निष्क्रिय अवस्थामा रहेको सरकारी उद्योगको पुनर्जीवनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। सरकारको योजना परीक्षण उत्पादन सफल भएपछि उद्योगलाई दीर्घकालीन र व्यावसायिक रूपमा सञ्चालनमा ल्याउने रहेको मन्त्रालयले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*