विदेशी मुद्रा सञ्चिति ३७ खर्ब ५५ अर्ब नाघ्यो, २२.५ महिनाको आयात धान्ने

काठमाडौँ । २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ४०.३ प्रतिशतले वृद्धि भई २०८३ जेठ मसान्तमा ३७ खर्ब ५५ अर्ब ६४ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ अनुसार यस्तो देखाएको हो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८३ जेठ मसान्तमा २६.५ प्रतिशतले वृद्धि भई २४ अर्ब ६८ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८३ जेठ मसान्तमा ३७.९ प्रतिशतले वृद्धि भई ३३ खर्ब ३० अर्ब ७ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रहेकोमा २०८३ जेठ मसान्तमा ६१.८ प्रतिशतले वद्धि भई ४ खर्ब २५ अर्ब ५७ करोड कायम भएको छ । २०८३ जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.५ प्रतिशत रहेकोछ ।
आर्थिक वर्ष २०८२/८३ को ११ महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २२.५ महिनाको वस्तु आयात र १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८३ जेठ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ६१.५ प्रतिशत, १५९.५ प्रतिशत र ४३.७ प्रतिशत रहेका छन् । २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।











