पूँजी बजार सुधारका लागि धितोपत्र बोर्ड सक्रिय, लगानीकर्तालाई दियो ८ बुँदे आश्वासन

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि पूँजी बजारको नीति तथा कार्यक्रम कार्यान्वयनमा लगानीकर्ता संरक्षण, बजार विकास, नियामकीय सुधार तथा वित्तीय साधनको विस्तारलाई प्राथमिकतामा राखेर अघि बढ्ने जनाएको छ।
बोर्डले सोमबार सार्वजनिक गरेको जानकारीअनुसार नेपालको पूँजी बजार संस्थागत विकास, डिजिटल प्रविधिको प्रयोग, लगानीकर्ताको पहुँच विस्तार तथा नियामकीय संरचनाको विकासका क्षेत्रमा महत्वपूर्ण मोडमा पुगे पनि बजारको आकार र गहिराइ वृद्धि, वित्तीय साधनको विविधीकरण, संस्थागत लगानीकर्ताको भूमिका विस्तार, कर्पोरेट ऋणपत्र बजारको विकास तथा उत्पादनमूलक क्षेत्रसँग पूँजी बजारको सम्बन्ध सुदृढ बनाउन थप सुधार आवश्यक रहेको जनाएको हो ।
बोर्डले धितोपत्र सम्बन्धी कसुरको प्रारम्भिक जाँचबुझका लागि सम्बन्धित निकायबीचको समन्वयलाई प्रभावकारी बनाउने तथा लगानीकर्ता सुरक्षालाई उच्च प्राथमिकतामा राख्ने जनाएको छ। सामाजिक सञ्जालमार्फत धितोपत्र बजारलाई प्रभावित पार्ने उद्देश्यले सूचना प्रवाह गर्ने, अनधिकृत लगानी परामर्श दिने, भ्रामक प्रचार गर्ने तथा वित्तीय ठगीका गतिविधिमाथि प्रभावकारी नियामकीय निगरानी गरिने बोर्डले उल्लेख गरेको छ।
प्रारम्भिक सार्वजनिक निष्काशनलाई थप व्यवस्थित बनाउन सरोकारवाला पक्षबाट प्राप्त सुझावलाई समेटेर नीतिगत व्यवस्था परिमार्जन गरिने तथा कम्पनीहरूको वित्तीय अवस्था र व्यवस्थापकीय पक्षको वस्तुपरक अध्ययनपछि मात्र सार्वजनिक निष्काशनको अनुमति दिने व्यवस्था मिलाइने बोर्डले जनाएको छ।
मार्जिन कारोबार सम्बन्धी निर्देशिका यसअघि नै जारी भइसकेको उल्लेख गर्दै बोर्डले यसको कार्यान्वयनमा देखिएका सीमितता हटाउन बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, केन्द्रीय निक्षेप प्रणाली तथा फर्छ्योट लिमिटेड र धितोपत्र दलाल व्यवसायीबीच समन्वय गरी यथाशीघ्र सञ्चालनको व्यवस्था मिलाइने जनाएको छ।
सूचीकरणपछि हुने धितोपत्र कारोबारमा माग र आपूर्तिबीच सन्तुलन कायम गर्न सामूहिक लगानी कोषको लकइन अवधि तथा बाँडफाँट सम्बन्धी व्यवस्थाको पुनरावलोकन गरिने पनि बोर्डले जनाएको छ।
लगानीकर्ताको कारोबार लागत घटाउने उद्देश्यले प्राथमिक तथा दोस्रो बजारमा लाग्ने शुल्कको पुनरावलोकन गरिने बोर्डको नीति तथा कार्यक्रममा उल्लेख छ।
बोर्डले हालको नेप्से सूचकाङ्कलाई सबै प्रकारका सूचीकृत धितोपत्र समेट्ने सूचकाङ्कका रूपमा कायम राख्दै कारोबारयोग्य अर्थात् स्वतन्त्र रूपमा कारोबार हुन सक्ने शेयरको आधारमा नयाँ सूचकाङ्क विकास गरी त्यसलाई मापदण्ड सूचकाङ्कका रूपमा प्रयोग गर्ने व्यवस्था मिलाइने जनाएको छ।
सामाजिक सञ्जालको प्रयोग गरी सर्वसाधारण लगानीकर्ताबाट प्रारम्भिक सार्वजनिक निष्काशनअघि संगठित संस्थामार्फत हुने पूँजी संकलन सम्बन्धी अभ्यासलाई समेत नियमनको दायरामा ल्याइने बोर्डले जनाएको छ।
बोर्डले यी सुधारका अतिरिक्त नेपालको पूँजी बजारलाई विश्वसनीय, पारदर्शी, प्रतिस्पर्धी, समावेशी तथा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप विकास गर्दै राष्ट्रिय बचतलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गरी आर्थिक रूपान्तरणमा योगदान पुर्याउने लक्ष्यसहित तयार गरिएको आगामी दशकको नेपालको पूँजी बजार विकास मार्गचित्र, २०८३ तथा आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीति र कार्यान्वयन कार्ययोजना बोर्डको वेबसाइटमार्फत सार्वजनिक गरिने जनाएको छ।












