२२ करोड बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ

३० असार २०८३, मंगलवार १८:४९

काठमाडौं । उखु किसानलाई करिब २२ करोड रुपैयाँभन्दा बढी बक्यौता रकम भुक्तानी नगरेको आरोपमा अन्नपूर्ण सुगर मिल प्रालिका दुई सञ्चालक पक्राउ परेका छन्।

नेपाल प्रहरीले उखु किसानको बक्यौता रकम लामो समयसम्म भुक्तानी नगरी आपराधिक लाभ (क्रिमिनल बेनिफिट) लिएको आरोपमा दर्ता भएको मुद्दामा फरार रहेका अन्नपूर्ण सुगर मिलका सञ्चालक शैलेन्द्र गुप्ता र विनोद साह कलवारलाई पक्राउ गरिएको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका गुप्ता पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–२ निवासी हुन् भने कलवार सर्लाहीको हरिपुर नगरपालिका–१ स्थायी घर भई हाल पश्चिम नवलपरासीमा बसोबास गर्दै आएका छन्।

उनीहरूले उखु किसानलाई करिब २२ करोड रुपैयाँभन्दा बढी बक्यौता रकम भुक्तानी नगरी आपराधिक लाभ लिएको आरोपमा उनीहरूविरुद्ध मुद्दा दर्ता भएको थियो। सोही मुद्दामा फरार रहेका दुवै जनालाई पक्राउ गरी अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*