पूर्व उपप्रधानमन्त्रीलाई चार बर्ष कैद सजाय, भुटानी शरणार्थीमा अन्य कसलाई कति कैद ?

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार बर्ष कैद सजाय हुने जिल्ला अदालत काठमाडौंले ठहर गरेको छ । जिल्ला अदालतका न्यायाधीश तेज बहादुर खड्काको इजलासले अर्का पूर्व मन्त्री बालकृष्ण खाँडलाई पनि दुई बर्ष कैद सुनाएको छ । भ्रष्टाचार मुद्दामा उपप्रधानमन्त्री समेत भइसकेका व्यक्तिलाई कैद सजाय सुनाएको पहिलो पटक हो ।
चार बर्ष कैद सजाय ठहर भएका अन्य अभियुक्तहरुमा पूर्व गृहसचिव टेकनारायण पाण्डे, बिचौलियाहरू केशव दुलाल र सानु भण्डारीसहितका मुख्य अभियुक्तहरूलाई सबैभन्दा बढी ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तोकिएको छ । भुटानी अधिकारवादी नेता टेकनाथ रिजाललाई भने २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ ।




यस्तै, पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईलाई ४ वर्ष कैद तोकिए पनि उनको उमेर (७५ वर्ष माथि) का कारण सजायमा केही छुट दिइएको छ । उनले अब ३ वर्ष २ महिना १० दिन कैद र ४० हजार रुपैयाँ जरिवाना भुक्तान गर्नुपर्नेछ ।
जिल्ला अदालतको फैसला अनुसार भुटानी शरणार्थी काण्डमा नरेन्द्र केसी, शमशेर मियाँ, हरिभक्त महर्जन र निरञ्जन कुमार खरेललाई भने १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला सुनाइएको छ ।
गत असार २३ गते जिल्ला अदालतले प्रतिवादी ३१ मध्ये १५ जनालाई दोषी ठहर, ७ जनालाई सफाइ र ८ जनाको मुद्दा मुल्तबीमा राख्ने आदेश गरेको थियो । दोषी ठहर भएका सबैलाई कैद सजाय सुनाएको छ ।











