काठमाडौंमा अनलाइन सट्टेबाजीको जालो पर्दाफास, २ करोडभन्दा बढी कारोबार गर्ने चार पक्राउ

काठमाडौं । काठमाडौंबाट अनलाइन जुवा (सट्टेबाजी) सञ्चालन गर्ने तथा सामाजिक सञ्जालमार्फत त्यसको प्रचारप्रसारमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा रूपन्देहीका प्रत्युशमान सिंह, बाराका गौतमकुमार गुप्ता, पाँचथरकी सवनम बानियाँ र पाल्पाका सुधन सुवेदी रहेका छन्।
प्रहरीका अनुसार काठमाडौंका विभिन्न स्थानबाट अनलाइन सट्टेबाजी सञ्चालन भइरहेको र त्यसको प्रचारप्रसारका लागि श्रव्यदृश्य सामग्री तयार गरी सामाजिक सञ्जालमा प्रसारण गर्ने गरिएको भन्ने सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको थियो। सोही क्रममा प्रहरी टोलीले माइतीघर क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो।
प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेकाहरूले मोबाइल बैंकिङ तथा विभिन्न बेटिङ प्लेटफर्ममार्फत दुई करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ।
उनीहरूको साथबाट चार थान मोबाइल फोन र चार थान सिमकार्ड बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद सामग्रीका आधारमा थप अनुसन्धान भइरहेको छ।
प्रहरीले पक्राउ परेका चारै जनाविरुद्ध सट्टेबाजी गर्न वा गराउन नहुने कसुरमा काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाएको जनाएको छ।











