स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि आह्वान गरेको दरखास्त रद्द

काठमाडौं । महिनौँदेखि खाली भएको स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशका लागि आह्वान गरेको दरखास्त सरकारले रद्द गरेको छ।
स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले मंगलबार सूचना प्रकाशित गरी स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि आह्वान गरिएको दरखास्त रद्द गरेको हो। मन्त्रालयले कार्यविधि बनाई दरखास्त आह्वान गर्ने प्रावधान रहेको भन्दै गत असार २ गते खुलाएको दरखास्त रद्द गरिएको जनाएको छ।
स्वास्थ्य मन्त्रालयले असार २ गते १५ दिनको म्याद राखेर कार्यकारी निर्देशक पदमा दरखास्त आह्वान गरेको थियो। असार १६ गते दरखास्त दिएका १२ जनाको नाम सार्वजनिक समेत गरेको थियो। तर, कार्यकारी निर्देशक चयन गर्ने समयमा आएर स्वास्थ्य मन्त्रालयले दरखास्त नै रद्द भएको सूचना निकालेको छ।
मन्त्रालयबाट खटाइएकी एघारौँ तहकी नर्सिङ् अधिकृत सकुन्तता प्रजापतिले अहिले बोर्डको निमित्त कार्यकारी निर्देशकको रुपमा कामकाज चलाएकी छन्।












