यूनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा सम्पन्न, लाभांश सहितका सबै प्रस्ताव पारित

काठमाडौं । यूनाइटेड अजोड इन्योरेन्स लिमिटेडको ३२औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। साधारणसभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको हो।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आ.व. २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित आ.व. २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह सहितको विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गरेको छ।
त्यस्तै लेखापरीक्षण समितिले सिफारिस गरे बमोजिम आ.व. २०८२/८३ को लागि बाह्य लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि साधारणसभाबाट पारित भएको छ।
सञ्चालक समितिबाट प्रस्ताव गरिएको हाल कायम चुक्ता पूँजी २ अर्ब ३१ करोड रुपैयाँको ०.२२५६ प्रतिशत नगद लाभांश बापत ५२ लाख १० हजार ५२६ रुपैयाँ कर प्रयोजनार्थ वितरण गर्ने प्रस्ताव पारित भएको छ। त्यस्तै विशेष प्रस्तावबाट कम्पनीले संचालक समितिबाट प्रस्ताव गरिएको हाल कायम चुक्ता पूँजीको ४.२८५७ प्रतिशतले हुन आउने रकम ९ करोड ९० लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पनि पारित भएको छ।
सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम गत साधारण सभावाट कायम भएको जारी पूँजी २ अर्ब ५४ करोड १० लाख रुपैयाँमा रहेकोमा बोनस शेयर जारी गरे पश्चात कम्पनीको जारी पूँजी २ अर्ब ६४ करोड रुपैयाँ पुग्ने हुँदा र सोही बमोजिम कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित भएको छ।
संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख वा स्वीकृत गर्ने निकायहरुबाट कुनै फेरबदल, थपघट गर्न निर्देशन प्राप्त भएमा सो अनुसार फेरवदल गर्न ञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि साधारणसभाले स्वीकृत गरेको छ।












