स्वीकृत अवकाश कोषले बैंकको डिबेञ्चरबाट कमाएको आम्दानीमा आयकर नलाग्ने

३१ असार २०८३, बुधबार १७:२६

काठमाडौं। आन्तरिक राजस्व विभागले स्वीकृत अवकाश कोषले बैंकको डिबेञ्चर खरिदमा गरेको लगानीबाट प्राप्त आम्दानीमा आयकर नलाग्ने स्पष्ट पारेको छ।

विभागले सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई पठाएको पत्रमार्फत आयकर ऐन, २०५८ को दफा ६४ को उपदफा (२) बमोजिम स्वीकृत अवकाश कोषको आयमा कर नलाग्ने व्यवस्था रहेको जनाएको हो।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले स्वीकृत अवकाश कोषले गरेको लगानी, विशेषगरी बैंकको डिबेञ्चर खरिदबाट प्राप्त आम्दानीमा आयकर लाग्ने वा नलाग्ने विषयमा स्पष्टता माग गर्दै विभागसँग राय मागेको थियो।

विभागका अनुसार आयकर ऐन, २०५८ को दफा ६३ बमोजिम स्वीकृति प्राप्त अवकाश कोषको आयमा दफा ६४ को उपदफा (२) अनुसार कर छुटको व्यवस्था छ। साथै, आयकर नियमावली, २०५९ को नियम २० अनुसार स्वीकृत अवकाश कोषमा जम्मा भएको रकम वा कोषलाई प्राप्त हुने रकम तोकिएका स्वीकृत लगानीका क्षेत्रमा मात्र लगानी गर्नुपर्ने व्यवस्था रहेको छ।

नियमावलीअनुसार प्रचलित कानुनबमोजिम स्थापना भएको नागरिक लगानी कोष, नेपाल सरकारले जारी गरेको ऋणपत्र, बैंकसम्बन्धी कानुनअन्तर्गत सञ्चालन भएका बैंक, बैंकसँग सहवित्तीयकरणका आधारमा गरिएको लगानी तथा आफ्ना सेयरधनीबाहेकका हिताधिकारीलाई गरिएको लगानी स्वीकृत लगानीको दायरामा पर्छ।

यही व्यवस्थालाई आधार मानेर विभागले बैंकसम्बन्धी प्रचलित कानुनअन्तर्गत सञ्चालन भएका बैंकको डिबेञ्चर खरिदमा गरिएको लगानी पनि स्वीकृत लगानीकै दायरामा पर्ने निष्कर्ष निकालेको जनाएको छ। त्यसबाट प्राप्त आम्दानीमा आयकर ऐन, २०५८ को दफा ६४ को उपदफा (२) बमोजिम आयकर नलाग्ने निर्णय विभागले गरेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*