बाढी पहिरोका कारण देशभरका चार राजमार्ग र मुख्य सडक पूर्ण रूपमा बन्द

काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण देशभरका चार राजमार्ग र मुख्य सडकखण्ड पूर्ण रूपमा बन्द भएका छन्। आज शुक्रबार दिउँसो साढे १ बजेसम्म नेपाल प्रहरीले दिएको अपडेट अनुसार विपी, मेची, अरनीको राजमार्ग र सालझण्डी ढोरपाटन सडकखण्ड अवरुद्ध भएका हुन्।
काभ्रे / खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी–सिन्धुली चल्ने वि.पि. राजमार्ग सडक खण्डमा आइपर्ने सम्भावित बाढीलाई मध्यनजर गर्दै बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म चल्ने सम्पूर्ण सवारी साधन अर्को सूचना नभएसम्मका लागि आवतजावतमा रोक लगाइएको छ।
त्यसैगरी असार २३ गते बिहानको १० बजे ईलाम नगरपालिका वडा नम्बर ९ राजदुवालीस्थित मेची राजमार्गमा वर्षाका कारण बाटो हिलो भई सवारी साधन आवतजावत गर्न नसक्ने भएकोले मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ भने उक्त स्थानमा वैकल्पिक बाटो खुला गरिएको छ।
त्यस्तै असार २८ गते अन्दाजी बेलुकीको ७ बजे अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नम्बर २ ढुंग्रेखोलास्थित सालझण्डी ढोरपाटन सडक खण्डमा माथिबाट ढुंगा खसेर बाटो पूर्ण बन्द भएको छ।
यता असार ३० गते दिउँसो साढे ३ बजे सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर २ कोदारीस्थित अरनिको राजमार्गमा पर्ने ईकु पहिरोमा वर्षाका कारण करिब १५ मिटर सकड ५ फिट तल भासिन गई बाटो पूरै बन्द रहेको छ। त्यस्तै असार ३१ गते बिहान ९ बजेको समयमा भोटेकोशी गाउँपालिका वडा नम्बर ४ चारकिलोस्थित अरनिको राजमार्गमा वर्षाको कारण १० मिटर सडक ५ फिट तल भासिन गई पूर्ण रूपमा बन्द रहको छ।











