नौं महिनामा ६ लाख ७३ हजार निर्जीवन बीमालेख नवीकरण, कुन कम्पनीको कति?

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमास (चैत्र मसान्त) सम्म नेपालका १४ निर्जीवन बीमा कम्पनीहरूले कुल ६ लाख ७३ हजार ३२५ वटा बीमालेख नवीकरण गरेका छन्। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ६ लाख ३३ हजार ५५५ वटा बीमालेख नवीकरण भएको थियो। यस वर्ष ३९ हजार ७७० वटा थप बीमालेख नवीकरण भएको देखिएको छ।
कम्पनीहरूले सार्वजनिक गरेको चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार सलिको इन्स्योरेन्स सबैभन्दा धेरै बीमालेख नवीकरण गर्ने कम्पनी बनेको छ। कम्पनीले ९७ हजार ८८७ वटा बीमालेख नवीकरण गरेको छ। यद्यपि यो अघिल्लो वर्षको सोही अवधिको ९९ हजार ४२० को तुलनामा १ हजार ५३३ वटा कम हो।
दोस्रो स्थानमा रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ८३ हजार ९६५ वटा बीमालेख नवीकरण गरेको छ। कम्पनीले अघिल्लो वर्षको तुलनामा ११ हजार ९६८ वटा बढी बीमालेख नवीकरण गर्दै उल्लेखनीय वृद्धि हासिल गरेको छ। नेको इन्स्योरेन्सले ७९ हजार १४५, शिखर इन्स्योरेन्सले ७१ हजार ७९ तथा हिमालयन एभरेष्ट इन्स्योरेन्सले ५६ हजार ५९७ वटा बीमालेख नवीकरण गरेका छन्।

त्यसैगरी एनएलजी इन्स्योरेन्सले ५२ हजार १७४, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ५१ हजार २५, सानिमा जिआइसी इन्स्योरेन्सले ४६ हजार ७२, युनाइटेड अजोड इन्स्योरेन्सले ३९ हजार ४३, नेपाल इन्स्योरेन्सले ३५ हजार ९५७ तथा प्रभु इन्स्योरेन्सले ३५ हजार २५४ वटा बीमालेख नवीकरण गरेका छन्।
यस्तै सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले १२ हजार ४३५, ओरियन्टल इन्स्योरेन्सले ७ हजार ९८३ तथा नेशनल इन्स्योरेन्सले ४ हजार ७०९ वटा बीमालेख नवीकरण गरेका छन्।
तथ्याङ्कले यस वर्ष अधिकांश कम्पनीहरूले नवीकरण भएका बीमालेखको संख्या बढाउन सफल भएको देखाएको छ। विशेषगरी सिद्धार्थ प्रिमियर, एनएलजी र हिमालयन एभरेष्टले उल्लेखनीय वृद्धि गरेका छन्। यता सलिको, युनाइटेड अजोड, शिखर तथा राष्ट्रिय बीमा कम्पनीमा भने नवीकरण भएका बीमालेखको संख्या अघिल्लो वर्षको तुलनामा घटेको देखिन्छ।











