पूँजी बजार विकासमा तीव्रता ल्याउन नेप्से तथा सिडिएसलाई निर्देशन

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले पूँजी बजारको विकासलाई तीव्रता दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) लाई ठोस कार्ययोजना तयार गरी कार्यान्वयन अघि बढाउन निर्देशन दिएको छ।
बोर्डले असार ३० गते सार्वजनिक गरेको ‘नेपालको पूँजी बजार विकास मार्गचित्र, २०८३’ तथा आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीति तथा कार्यान्वयन योजनाअनुसार बजारमा नयाँ उपकरण तथा सेवाको विविधीकरणलाई प्राथमिकतामा राखिएको जनाएको छ।
सोही नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै बजार विकास र सुधारका कार्यक्रम अघि बढाउने उद्देश्यले बोर्डका अध्यक्ष डा. गोपाल प्रसाद भट्टको उपस्थितिमा नेप्से र सीडीएससीका उच्च पदस्थ अधिकारीसँग छलफल गरिएको हो।
छलफल आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीतिअन्तर्गत नेप्से र सीडीएससीले कार्यान्वयन गर्नुपर्ने कार्यक्रमहरूमा केन्द्रित रहेको बोर्डले जनाएको छ।
छलफलपछि अध्यक्ष भट्टले पूँजी बजार विकासका लागि बोर्डको नीतिमा समावेश भएका सम्बन्धित कार्यक्रमको विस्तृत कार्ययोजना यथाशीघ्र तयार गरी बोर्डमा पेश गर्न निर्देशन दिएका छन्।
यसका साथै ‘सर्ट सेलिङ’ सेवा सञ्चालनका लागि आवश्यक कानुनी सुधार, जनशक्ति तथा प्रविधिगत पूर्वाधारको आवश्यकता पहिचान गरी शीघ्र कार्यान्वयन प्रक्रिया अघि बढाउन पनि उनले निर्देशन दिएका छन्। यसका लागि आवश्यक पूर्वाधार विकास तथा सहजीकरण गर्न बोर्ड पूर्ण रूपमा तयार रहेको अध्यक्ष भट्टले स्पष्ट पारे।











