घरजग्गामा फसे वाणिज्य बैंक: एक वर्षमै थपियो ७ अर्ब गैरबैंकिङ सम्पत्ति, हिमालयनको उच्च

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरु घरजग्गा तथा भवनका ‘अनिच्छुक मालिक’ बन्दै बैंक गएका छन् । कर्जा असुल हुन नसकेपछि धितोका रूपमा रहेका घर, जग्गा, भवन वा अन्य सम्पत्ति बैंकहरूले आफ्नै स्वामित्वमा लिनुपर्ने अवस्था पछिल्ला वर्षमा उल्लेखनीय रूपमा बढेको हो ।
वित्तीय विवरणमा यस्ता सम्पत्तिको आकार बढ्दै जानुलाई सामान्य तथ्यांकको वृद्धि मात्र मान्न सकिँदैन किनकि यसले बैंकहरूको तरलता, नाफा र कर्जा विस्तार क्षमतामाथि प्रत्यक्ष प्रभाव पारिरहेको छ । उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्नुपर्ने स्रोत निष्क्रिय सम्पत्तिको व्यवस्थापनमा खर्चिनु परिरहेको अवस्थाले बैंकिङ क्षेत्रको कार्यक्षमतामै प्रश्न उठाएको छ । आर्थिक गतिविधि सुस्त बन्दै जाँदा यस्तो सम्पत्तिको व्यवस्थापन अझ चुनौतीपूर्ण बन्दै गएको देखिन्छ ।
यो अवस्थाको पृष्ठभूमि हेर्दा विगतका वर्षहरूमा आक्रामक कर्जा विस्तारको रणनीतिले अहिलेको समस्या निम्त्याएको विश्लेषण गरिन्छ । बजार निरन्तर विस्तार हुने अपेक्षामा घरजग्गा र निर्माण क्षेत्रतर्फ ठूलो मात्रामा कर्जा प्रवाह गरियो । कतिपय अवस्थामा ऋणीको वास्तविक आम्दानी, व्यवसायको दिगोपन र नगद प्रवाहभन्दा धितोको मूल्यलाई बढी आधार बनाइयो। सम्पत्तिको मूल्य सधैँ बढिरहने अनुमानका आधारमा गरिएको उच्च मूल्याङ्कनले प्रारम्भमा सहज देखिए पनि आर्थिक गतिविधि सुस्ताएपछि त्यही निर्णय बैंकहरूका लागि जोखिममा परिणत भयो । घरजग्गा कारोबार घटेसँगै धितो बिक्री गरेर कर्जा उठाउने योजना प्रभावकारी हुन सकेन र अन्ततः बैंकहरूले ती सम्पत्ति आफैं राख्नुपर्ने अवस्था सिर्जना भयो । यसले कर्जा स्वीकृति प्रक्रिया, जोखिम विश्लेषण र सम्पत्ति मूल्याङ्कन प्रणालीको प्रभावकारितामाथि पुनः समीक्षा गर्नुपर्ने आवश्यकता देखाएको छ।
राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०८२।०८३ को जेठ मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति ४६ अर्ब ८ करोड ७८ लाख रुपैयाँ पुगेको छ । जुन गत वर्षको तुलनामा १८.८१ प्रतिशत अर्थात् ७ अर्ब २९ करोड ६७ लाख रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति ३८ अर्ब ७९ करोड रुपैयाँ रहेको थियो ।
सर्वाधिक गैरबैंकिङ सम्पत्ति रहने बैंकमा हिमालयन बैंक पहिलो नम्बरमा रहेको छ । यसअवधिमा बैंकको गैरबैंकिङ सम्पत्ति ६ अर्ब २३ करोड ८५ लाख रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा १७.२९ प्रतिशतले बढी हो ।
दोस्रो नम्बरमा रहेको ग्लोबल आइएमई बैंकको गैरबैंकिङ सम्पत्ति अघिल्लो आर्थिक वर्षको तुलनामा ०.७७ प्रतिशतले घटेपनि ५ अर्ब ८९ करोड रुपैयाँ रहेको छ । यता, तेस्रो नम्बरमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४७ प्रतिशतले बढेर ४ अर्ब ७० करोड रुपैयाँ रहेको छ ।
प्राइम बैंकको गैरबैंकिङ सम्पत्ति धेरै वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको जेठ मसान्तसम्मको अवधिमा २ अर्ब २६ करोड रुपैयाँ रहेको गैरबैंकिङ सम्पत्ति १०७.२९ प्रतिशतले बढेर ४ अर्ब ६८ करोड ८४ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, समिक्षा अवधिसम्ममा एनआईसी एशियाको १०.५३ प्रतिशतले घटेर ४ अर्ब १७ करोड, नबिल बैंकको १० प्रतिशतले घटेर ३ अर्ब ३८ करोड र कुमारी बैंकको ३.१२ प्रतिशतले घटेर २ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।
सबैभन्दा कम गैरबैंकिङ सम्पत्ति हुनेमा सरकारी बैंक नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् । बैंकको क्रमशः २३ करोड ३६ लाख र ३१ करोड ४ लाख रुपैयाँ गैंरबैंकिङ सम्पत्ति रहेको छ ।











