सांसदलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन संसद् सचिवालयको आग्रह
१ श्रावण २०८३, शुक्रबार १६:२०

काठमाडौं । सङ्घीय संसद् सचिवालयले सङ्घीय संसद्का सबै सदस्य (सांसद) हरूलाई आर्थिक वर्ष २०८२/०८३ को सम्पत्ति विवरण आगामी ६० दिनभित्र अनिवार्य रूपमा बुझाउन आग्रह गरेको छ।
सचिवालयले भ्रष्टाचार निवारण ऐन, २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ बमोजिम सांसदहरूले आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र आफ्नो तथा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण बुझाउनुपर्ने स्पष्ट पारेको छ।
सम्पत्ति विवरण बुझाउने अवधि २०८३ साउन १ गतेदेखि २०८३ भदौ २९ गतेसम्म तोकिएको छ। सचिवालयका अनुसार सम्पत्ति विवरण खामबन्दी गरी खाममा आवश्यक विवरण उल्लेख गरेर सङ्घीय संसद् सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा दर्ता गर्नुपर्नेछ।











