सरकारले एक वर्षमा उठायो १२ खर्ब ४१ अर्ब राजस्व, लक्ष्यको करिब ८४ प्रतिशत पूरा

१ श्रावण २०८३, शुक्रबार १७:२८

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२/८३ मा राजस्व संकलनतर्फ लक्ष्यअनुसार उल्लेख्य प्रगति हासिल गरेको छ। महालेखा नियन्त्रक कार्यालयको असार मसान्तसम्मको विवरणअनुसार सरकारले निर्धारण गरेको कुल राजस्व लक्ष्यको ८३.८७ प्रतिशत रकम संकलन गरेको हो।

सरकारले गत आर्थिक वर्षका लागि १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य तय गरेको थियो। आर्थिक वर्षको अन्त्यसम्ममा १२ खर्ब ४१ अर्ब ३१ करोड ८५ लाख रुपैयाँ राजस्व संकलन भएको छ। आर्थिक वर्षको अन्तिम दिन असार ३२ गते मात्रै १६ अर्ब ५० करोड ९५ लाख रुपैयाँ राजस्व सरकारी खातामा जम्मा भएको विवरणमा उल्लेख छ।

राजस्व संकलनमा कर राजस्वले मुख्य योगदान दिएको देखिएको छ। सरकारले कर राजस्वबाट १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख रुपैयाँ उठाउने लक्ष्य राखेकामा ११ खर्ब २१ अर्ब ८ करोड २१ लाख रुपैयाँ संकलन गर्न सफल भएको छ। यो कर राजस्व लक्ष्यको ८४.५७ प्रतिशत बराबर हो।

गैरकर राजस्वतर्फ भने लक्ष्यअनुसार संकलन हुन सकेन। सरकारले यस शीर्षकबाट १ खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख रुपैयाँ उठाउने लक्ष्य राखेकोमा १ खर्ब २० अर्ब २३ करोड ६४ लाख रुपैयाँ मात्र संकलन भएको छ। यो लक्ष्यको ७७.८७ प्रतिशत हो।

राजस्वबाहेक सरकारले वैदेशिक अनुदानबाट पनि आम्दानी गर्ने लक्ष्य राखेको थियो। ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ वैदेशिक अनुदान प्राप्त गर्ने लक्ष्य रहेकामा आर्थिक वर्षको अन्त्यसम्म ३१ अर्ब २६ करोड ४१ लाख रुपैयाँ मात्रै प्राप्त भएको छ। यसले लक्ष्यको ५८.५ प्रतिशत मात्र ओगटेको देखिन्छ।

त्यसैगरी, अन्य प्राप्ति शीर्षकअन्तर्गत सरकारले ८ अर्ब ७ करोड १० लाख रुपैयाँ संकलन गरेको छ। वैदेशिक अनुदान अपेक्षाभन्दा कम प्राप्त भए पनि कर राजस्वबाट भएको अपेक्षाकृत राम्रो संकलनले सरकारको समग्र आम्दानीलाई टेवा दिएको देखिन्छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*