साउन २८ गतेसम्म नेपाल लाइफको कामु सीईओमा अमित कयाल नियुक्त

१ श्रावण २०८३, शुक्रबार १७:५५

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) अमित कुमार कयाललाई कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ।

कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार साउन ४ गतेदेखि साउन २८ गतेसम्म प्रमुख कार्यकारी अधिकृत (सीईओ) पद रिक्त रहने भएकाले उक्त अवधिका लागि कयाललाई कामु सीईओको जिम्मेवारी प्रदान गरिएको हो।

कम्पनी सञ्चालक समितिको ४१८औँ बैठकले बीमा ऐन, २०७९ तथा अन्य प्रचलित कानुनबमोजिम कम्पनीको दैनिक प्रशासकीय तथा आवश्यक व्यवस्थापकीय कार्य सञ्चालन गर्न कयाललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको जनाएको छ।

हालका प्रमुख कार्यकारी अधिकृत प्रविण रमन पराजुलीको कार्यकाल साउन ३ गते समाप्त हुँदैछ। सञ्चालक समितिले यसअघि नै उनलाई साउन २९ गतेदेखि लागू हुने गरी पुनः प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरिसकेको छ। कार्यव्यस्तताका कारण पराजुलीले पुनर्नियुक्तिपछि करिब एक महिनापछि मात्रै कार्यभार सम्हाल्ने जनाइएको छ। यही कारण साउन ४ गतेदेखि साउन २८ गतेसम्मको अवधिमा कम्पनीको नेतृत्व कयालले कामु सीईओका रूपमा गर्नेछन्।

नेपाल लाइफजस्तो मुलुककै अग्रणी जीवन बीमा कम्पनीको नेतृत्व केही समयका लागि सम्हाल्ने अवसरले कयालको व्यवस्थापकीय अनुभव र व्यावसायिक व्यक्तित्व विकासमा समेत महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*