विश्वकै शक्तिशाली हाइड्रोजन रेलमा भारतको सफलता, मोदीले गरे उद्घाटन

काठमाडौं । भारतले हाइड्रोजन इन्धनबाट चल्ने आफ्नो पहिलो रेल सञ्चालनमा ल्याएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार हरियाणाको जीन्द रेलवे स्टेशनबाट हरियो झण्डा देखाएर उक्त रेलको उद्घाटन गरेका हुन्।
यो रेल डिजेल वा माथिबाट आउने विद्युत् तारमा निर्भर नहुने भएकाले हाइड्रोजन इन्धन–सेल प्रणालीबाट विद्युत् उत्पादन गरी रेल सञ्चालन गरिन्छ। यसबाट धुवाँ ननिस्कने र वातावरणमा कम प्रदूषण हुने बताइएको छ।
१० डिब्बा रहेको यो रेल हरियाणाको जीन्द–सोनीपत रेलमार्गमा दैनिक दुई पटक सञ्चालन हुनेछ। रेलको अधिकतम गति प्रतिघण्टा ७५ किलोमिटर रहेको छ भने एकपटकमा ६८२ यात्रुले यात्रा गर्न सक्नेछन्।
रेल सञ्चालनका लागि जीन्दमा हरित हाइड्रोजन उत्पादन, भण्डारण र रेलमा इन्धन भर्ने विशेष केन्द्र निर्माण गरिएको छ। पानीलाई विशेष प्रक्रियाबाट हाइड्रोजनमा रूपान्तरण गरी त्यसैबाट रेल सञ्चालन गरिने व्यवस्था गरिएको छ।











