पूर्व अर्थमन्त्री तथा नागरिक अधिकारकर्मी पाण्डेको ८७ बर्षको उमेरमा निधन

१ श्रावण २०८३, शुक्रबार २२:३९

काठमाडौं । नागरिक अधिकारका लागि सम्झौताहिन आन्दोलन गरेर नेपालमा प्रजातन्त्र पुनर्बहालमिा अथक भूमिका निर्वाह गरेका डा. देवेन्द्रराज पाण्डेको आज ८७ बर्षको उमेरमा काठमाडौंमा निधन भएको छ । २०४७ सालमा डेढ बर्षसम्म अर्थमन्त्री बनेर देशको अर्थतन्त्रका नीति निर्माणमा समेत काम गरेका पाण्डे नागरिक अधिकारका लागि अथक संघर्ष गरेका व्यक्ति हुन् ।

क्यान्सरसँग जुधिरहेका पाण्डेको शुक्रबार साँझ ७ बजेर ४० मिनेट जाँदा काठमाडौंको विशालनगरस्थित निवासमा पाण्डेको निधन भएको परिवारका सदस्यहरुले जानकारी दिएका छन् ।

चिकित्सक अनुप सुवेदीका अनुसार परिवारको साथमा रहेका बेला पाण्डे बितेका हुन् । क्यान्सरबाट थलिएका पाण्डेलाई बिहिबार मात्रै ह्याम्स अस्पतालमा र पाटन अस्पतालमा लगेर उपचार गरिएको थियो । तीन महिना अघि देखि रोगले च्याप्दै लगेपछि उपचार नगराई स्वच्छाले नै घरैमा बसेका थिए । हिजो गरिएको परिक्षणको क्रममा चिकित्सकहरुले अन्तिम अवस्थामा पुगेको जानकारी दिएपछि घरैमा प्राण त्याग गर्ने पाण्डेको इच्छा अनुसार बिशालनगरस्थित घरैमा लगिएको बताइएको छ ।

पञ्चायत विरोधी आन्दोलन सफल भएपछि २०४६ मा प्रजातन्त्र स्थापनापछि कृष्णप्रसाद भट्टराईको नेतृत्वमा बनेको अन्तरिम सरकारमा २०४७ देखि २०४८ पाण्डे अर्थमन्त्री थिए ।
पाण्डेले अर्थमन्त्रीबाट बाहिरिएपछि देशमा सुशासन, लोकतन्त्र, विकास, भ्रष्टाचारको अन्त्य, र उत्तरदायी राज्य व्यवस्थाबाट मात्रै नागरिक अधिकार रक्षा हुने भन्दै चट्टान झै अडिग भई आन्दोलनमा सक्रिय भएर काम गरेका थिए ।

२० अगस्ट १९३९ मा काठमाडौंमा जन्मिएका पाण्डेले त्रिचन्द्र कलेजमा उच्च शिक्षा हासिल गरेका थिए । त्यसपछि भारतको इलाहाबाद विश्वविद्यालयबाट स्नातकोत्तर तथा अमेरिकाको पिट्सबर्ग विश्वविद्यालयबाट सार्वजनिक तथा अन्तर्राष्ट्रिय मामिलामा पीएचडी गरेका थिए ।

पाण्डे पूर्व सचिव पनि हुन् । सन् १९७८ देखि १९८० सम्म अर्थ सचिव भएर काम गरेका थिए । तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापासँग विवाद भएपछि राजीनामा दिएका थिए । पाण्डे लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलन (सिटिजन्स मुभमेन्ट फर डेमोक्रेसी एन्ड पिस)का नेतामध्ये थिए ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*