औद्योगिक क्षेत्रबाट ४६ करोडभन्दा बढी महसुल संकलन, बक्यौता नतिर्ने १० उद्योगको लाइन काटियो

काठमाडौं । औद्योगिक क्षेत्रका भौतिक संरचना प्रयोग गरेबापत उद्योगीहरूले गत असार मसान्तसम्म ४६ करोड ८६ लाख रुपैयाँ राज्यकोषमा दाखिला गरेका छन्।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार देशभरका विभिन्न १० औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका उद्योगबाट उक्त रकम संकलन गरिएको हो। महसुल संकलनको अभियान तीव्र बनाइएपछि लामो समयदेखि बाँकी रहेको रकमसमेत उठ्न थालेको लिमिटेडले जनाएको छ।
देशभरका औद्योगिक क्षेत्रमा सञ्चालित ३०० भन्दा बढी उद्योगबाट उठ्न बाँकी महसुल करिब ८८ करोड रुपैयाँ रहेको छ। बक्यौता असुलीलाई प्राथमिकतामा राख्दै लिमिटेडले बक्यौता नतिर्ने उद्योगमाथि कारबाहीसमेत अघि बढाएको छ।
यसैक्रममा लामो समयसम्म बक्यौता नबुझाएका १० उद्योगको विद्युत् आपूर्ति काटिएको छ। लिमिटेडका अनुसार ती उद्योगलाई पटक–पटक ताकेता गर्दा पनि रकम नतिरेपछि विद्युत् लाइन विच्छेद गरिएको हो।











