शेयर बजारबाट सरकारको आम्दानीमा ठूलो धक्का, पुँजीगत लाभकर ६ अर्बभन्दा बढीले घट्यो

४ श्रावण २०८३, सोमबार १२:१३

काठमाडौं । शेयर बजारबाटहुने आम्दानीमा लगाइने पुँजीगत लाभकर संकलनमा गत आर्थिक वर्ष उल्लेख्य गिरावट आएको छ। आर्थिक वर्ष २०८२/८३ मा शेयर लगानीकर्ताले सरकारलाई १० अर्ब ३५ करोड १५ लाख ५६ हजार रुपैयाँ पुँजीगत लाभकर बुझाएका छन्। यो रकम अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा संकलन भएको १६ अर्ब ५४ करोड ३७ लाख रुपैयाँको तुलनामा ३७.४३ प्रतिशत कम हो। अर्थात्, एक वर्षको अवधिमा राज्यको यो शीर्षकको राजस्व ६ अर्ब १९ करोड रुपैयाँभन्दा बढीले घटेको देखिएको छ।

गत आर्थिक वर्ष अधिकांश समय शेयर बजार सुस्त रह्यो । राजनीतिक अस्थिरता, आन्दोलनलगायतका कुराले लगानीकर्ताको मनोबल समेत कमजोर बन्यो । परिणामस्वरूप कारोबारबाट राज्यले प्राप्त गर्ने लाभकरमा पनि ठूलो गिरावट आएको देखिएको हो।

बजारमा कारोबारको मात्रा धेरै भए पनि मूल्य वृद्धि सीमित रहँदा नाफा घटेको र धेरै लगानीकर्ताले कम मूल्यमा शेयर बिक्री गर्नुपरेको अवस्थाले कर संकलनमा प्रत्यक्ष असर पारेको छ।

गत आर्थिक वर्षको मासिक तथ्यांक हेर्दा अधिकांश महिनामा कर संकलन अघिल्लो वर्षको तुलनामा घटेको देखिन्छ। आर्थिक वर्षको सुरुआती महिना साउनमा २ अर्ब १५ करोड ७५ लाख रुपैयाँ पुँजीगत लाभकर उठेको थियो जबकि अघिल्लो वर्ष सोही अवधिमा ४ अर्ब २३ करोड ७८ लाख रुपैयाँ संकलन भएको थियो। यसअनुसार साउन महिनामै कर संकलन ४९.०९ प्रतिशतले घटेको देखिन्छ।

भदौमा गिरावट अझ तीव्र देखियो। उक्त महिनामा सरकारको खातामा ६० करोड १४ लाख रुपैयाँ मात्र पुँजीगत लाभकर जम्मा भयो जबकि अघिल्लो वर्ष भदौमा २ अर्ब ५७ करोड ९४ लाख रुपैयाँ संकलन भएको थियो।

असोज महिनामा पनि सुधार आउन सकेन। यो महिनामा २४ करोड ३७ लाख रुपैयाँ मात्र कर उठ्यो। अघिल्लो वर्ष असोजमा ५८ करोड ६५ लाख रुपैयाँ संकलन भएको थियो।

कात्तिकमा ३८ करोड ५ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ जुन अघिल्लो वर्षको ७५ करोड ८७ लाख रुपैयाँको तुलनामा ४९.८४ प्रतिशत कम हो। त्यस्तै मंसिरमा ६२ करोड ९८ लाख रुपैयाँ कर उठ्दा अघिल्लो वर्षको १ अर्ब ४ करोड रुपैयाँको तुलनामा ३९.४८ प्रतिशत कमी आएको छ।

पुस महिनामा भने अवस्था केही स्थिर देखिएको छ। उक्त महिनामा ५८ करोड ४४ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ जुन अघिल्लो वर्षको ५८ करोड ८ लाख रुपैयाँको तुलनामा ०.६२ प्रतिशतले मात्रै बढी हो।

माघ महिनाले भने सकारात्मक संकेत दिएको छ। उक्त महिनामा सरकारको खातामा १ अर्ब २९ करोड १९ लाख रुपैयाँ पुँजीगत लाभकर जम्मा भएको छ। अघिल्लो वर्ष माघमा १ अर्ब ५ करोड ७० लाख रुपैयाँ उठेको थियो।

तर, फागुनमा फेरि संकलन खस्कियो। फागुनमा ५५ करोड १५ लाख रुपैयाँ कर उठ्दा अघिल्लो वर्षको १ अर्ब ३३ करोड २ लाख रुपैयाँको तुलनामा ५८.५४ प्रतिशतले गिरावट आएको छ।

यसबीच चैत महिना भने सबैभन्दा उल्लेखनीय रह्यो। चैतमा १ अर्ब ७३ करोड ५७ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ। अघिल्लो वर्ष यही महिनामा ६९ करोड ३५ लाख रुपैयाँ मात्रै उठेको थियो।

वैशाखमा सरकारले ९३ करोड ६१ लाख रुपैयाँ पुँजीगत लाभकर प्राप्त गरेको छ। अघिल्लो वर्षको १ अर्ब २२ करोड ९२ लाख रुपैयाँको तुलनामा यो २३.८४ प्रतिशत कम हो। त्यसपछि जेठमा संकलन ४३ करोड १८ लाख रुपैयाँमा सीमित रह्यो जुन अघिल्लो वर्षको १ अर्ब १७ करोड ८२ लाख रुपैयाँको तुलनामा ६३.३५ प्रतिशतले घटेको हो।

आर्थिक वर्षको अन्तिम महिना असारमा ८० करोड ६८ लाख रुपैयाँ पुँजीगत लाभकर उठेको छ। अघिल्लो वर्ष असारमा १ अर्ब २७ करोड १२ लाख रुपैयाँ संकलन भएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*