नेपाली बाल कोडर प्रविधि अधिकारीको विश्वमञ्चमा उदय, अन्तर्राष्ट्रिय ‘योङ साइन्टिस्ट’ कार्यक्रममा छनोट

४ श्रावण २०८३, सोमबार १२:०१

काठमाडौं । प्रविधिप्रति असाधारण रुचि र सिर्जनशील क्षमताका कारण नेपाली बाल कोडर प्रविधि अधिकारी अन्तर्राष्ट्रिय प्रतिष्ठाको ‘योङ साइन्टिस्ट प्रोग्राम’मा आबद्ध भएकी छिन्।

विद्यार्थीहरूमा कोडिङ, गेम डेभलपमेन्ट, तार्किक सोच, समस्या समाधान गर्ने क्षमता र समूहमा मिलेर काम गर्ने सीप विकास गर्ने उद्देश्यले सञ्चालन हुने उक्त कार्यक्रममा अधिकारीको सहभागितालाई नेपाली बालप्रतिभाको विश्वस्तरमा बढ्दो उपस्थितिको रूपमा हेरिएको छ। यस सफलताले विशेषगरी प्रविधि क्षेत्रमा अघि बढ्न चाहने छात्राछात्रालाई थप आत्मविश्वास र प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ।

नेपालमा अन्तर्राष्ट्रिय स्तरको प्रविधि शिक्षाको पहुँच विस्तार गर्न दूरशिक्षा एजुकेसन नेटवर्कले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। अमेरिकाको प्रतिष्ठित प्रविधि अनुसन्धान तथा प्रमाणीकरण संस्था स्टीम डट ओआरजीसँगको सहकार्यमार्फत दूरशिक्षाले विश्वस्तरीय प्रविधि शिक्षा नेपाली विद्यार्थीसम्म पुर्‍याउँदै आएको जनाएको छ।

विश्वस्तरीय पाठ्यक्रम र व्यवहारिक सिकाइका माध्यमबाट नेपाली बालबालिकाले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा आफूलाई सक्षम रूपमा स्थापित गर्न सक्ने आधार बलियो बन्दै गएको देखिएको छ। पछिल्ला वर्षहरूमा नेपाली विद्यार्थीहरूले प्रविधि र नवप्रवर्तनका क्षेत्रमा हासिल गरेका उपलब्धिले उनीहरूको क्षमता विश्वबजारमा समेत प्रतिस्पर्धी रहेको सन्देश दिएको छ।

शिक्षा र प्रविधिलाई जोड्ने यस्ता पहलहरूले नयाँ पुस्तालाई केवल प्रोग्रामिङ सिकाउने मात्र नभई अनुसन्धान, नवप्रवर्तन र सिर्जनशील सोचतर्फ पनि अग्रसर गराइरहेका छन्। यसले भविष्यमा डिजिटल नेपालको निर्माणका लागि दक्ष जनशक्ति उत्पादन गर्न उल्लेखनीय योगदान पुग्ने अपेक्षा लिइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*