हिमालयन रि इन्स्योरेन्सका सबै व्यवसायमा सुचारु, कारवाही अवधी सकियो

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले यही साउन १ गतेदेखि पूर्ण रुपमा व्यवसाय सुचारु गरेको छ । गत बैशाख २९ गते नियामक बीमा प्राधिकरणले लगाएको नयाँ बीमा व्यवसायमाथिको प्रतिबन्ध अवधी गत असार ३२ गतेबाट व्यतित भएपछि साउन १ गतेदेखि पूर्ण रुपमा पुनर्बीमा व्यवसायमा फर्किएको हो ।
हिमालयन रि इन्स्योरेन्स कम्पनीका कामु सिईओ सन्तोष केसीले साउन १ गतेबाट सबै प्रकारको कारवाहीबाट मुक्त भएको बताए । कम्पनीले अहिले फ्याकल्टेटिभ र ट्रिटीसहितका सबै बीमा सम्झौताहरु सुरु गरिसकेको छ । यद्यपि हिमालयन रि इन्स्योरेन्स कम्पनीले पाउनुपर्ने कतिपय बीमाको हिस्साबारेमा भने अन्योल कायमै छ । नियामकीय स्पष्ट निर्देशन अझै बाँकी छ ।
हिमालयन रि इन्स्योरेन्स कम्पनीको खातामा रहेको दुई अर्ब ७३ करोड रुपैयाँ शेयर किन्ने भनेर दुरुपयोग गरेको काण्डमा अहिले मुद्दा चलिरहेको छ । सो मुद्दा चलेकै कारण कम्पनीमाथि थप दायित्व सिर्जना नहुने तथा बरु सञ्चालकहरुले नै हिनामिना गरेको रकमको ब्याज सहित भुक्तानी गर्नुपर्ने भएकोले कम्पनी वित्तीय रुपमा कुनै अप्ठेरोमा छैन । पछिल्ला दिनहरुमा कम्पनीले नेपाली बीमा कम्पनीहरुलाई तिर्नु बुझाउनुपर्ने सबै रकम तिरिरहेको छ ।
घोटाला प्रकरणमा नियामकले दुई महिना भन्दा लामो समय नयाँ व्यवसायमा प्रतिबन्ध लगाउँदै कारवाही गरेको थियो । कम्पनीमाथि गरिएका सबै कारवाही व्यतित भइसकेको छ । सर्वसाधारणको समेत शेयर लगानी रहेको हिमालयन रि इन्स्योरेन्स कम्पनीमा लगानीकर्ताहरुको सबै रकम सुरक्षित रहेको नियामक बीमा प्राधिकरणको भनाई छ ।
कम्पनीमा वित्तीय रुपमा तत्काल ठूलो समस्या नभए पनि कम्पनीको खाताबाट दुरुपयोग गरिएको रकम फिर्ता आउन ढिलाई भएका कारण भुक्तानीमा केही ढिलाई भएपनि अहिले सबै समस्या हल भइरहेको कम्पनीले जनाइएको छ ।
उता, बीमा प्राधिकरण स्रोतका अनुसार कम्पनीको नयाँ व्यवस्थापकलाई कम्पनीलाई त्रुटीरहित रुपमा सञ्चालन गर्न निर्देशन गरिएको र प्राधिकरणले सुक्ष्म निगरानी समेत गरिरहेको जनाइएको छ ।
स्वदेश तथा विदेशबाट समेत पुनर्बीमा व्यवसाय भित्राएको हिमालयन रिले नेपाल र नेपाल बाहिर पनि व्यवसाय विस्तारको लागि मार्गप्रसस्त गरेर काम गर्ने बाटो खुल्ला भएको बीमा प्राधिकरण स्रोतले जनाएको छ । तत्काल देखिएको हदसम्म कारवाही भइसकेकोले अबका दिनमा राम्ररी सञ्चालन हुने आशा गरिएको एक अधिकारीले बताए ।
हिमालयन रि इन्स्योरेन्स कम्पनीका पूर्व सञ्चालकहरु सबै बाहिरिसकेका छन् । कम्पनीको अध्यक्षमा शंकरदेव क्याम्पसमा अध्यापन गराउँदै आएका उदय निरौलाको अध्यक्षमा नयाँ कार्य समिति र नयाँ व्यवस्थापन टिमबाट सञ्चालित रहेको छ । नियामकले पनि नयाँ नेतृत्वले कम्पनीलाई सुशासन र नियामकीय परिधिभित्र रहेर काम गर्ने प्रतिबद्धता नयाँ व्यवस्थापनले गरेको छ ।











