बालेनको सक्रियताले बजारमा रौनकः लगानीकर्ता उत्साहित, यी कारण आउँछ बुल !

४ श्रावण २०८३, सोमबार १५:०६

काठमाडौँ । नयाँ आर्थिक वर्षको सुरुआतसँगै केही सातादेखि दबाबमा रहेको नेपाली पूँजीबजारमा सकारात्मक वातावरण बन्न थालेको संकेत देखिएको छ । यही सन्दर्भमा बालेन्द्र शाह (बालेन) ले सोमबार पूँजी बजार तथा शेयर बजारसँग सम्बन्धित सरोकारवालासँग छलफल गर्दै बजार विकास, लगानीकर्ताको मनोबल अभिवृद्धि र पूँजी परिचालनलाई प्रभावकारी बनाउने विषयमा आफ्ना धारणा राखेका छन् ।

छलफलमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्ट, नेपाल स्टक एक्सचेन्जका अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकाल तथा पूँजीबजारसँग सम्बन्धित अन्य प्रतिनिधिको सहभागिता रहेको थियो। बैठकमा बालेनले पूँजीबजारलाई केवल शेयर किनबेचको माध्यमका रूपमा नभई उत्पादन, उद्यमशीलता, रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तार गर्ने प्रमुख संयन्त्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। उनले बजारप्रति लगानीकर्ताको विश्वास बढाउन नीतिगत स्थिरता, पारदर्शिता र दीर्घकालीन सुधार अपरिहार्य रहेको उल्लेख गर्दै आवश्यक सहयोग र समन्वयका लागि आफू प्रतिबद्ध रहेको बताए ।

यसअघि गत बिहीबार बालेन शाह र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलबीच भएको भेटवार्ताले पनि बजारमा सकारात्मक सन्देश दिएको मानिएको छ। उक्त भेटमा बालेनले मौद्रिक नीतिलाई थप लचिलो बनाउँदै शेयर बजारका लगानीकर्ताको मनोबल बढाउने, बैंकिङ प्रणालीमा ब्याजदर र कर्जा सर्तलाई उद्यममैत्री बनाउने तथा उत्पादनमूलक क्षेत्रमा लगानी प्रवाह सहज बनाउने विषयमा जोड दिएका थिए। साथै महिला, युवा तथा पिछडिएका क्षेत्रका उद्यमीलाई सहुलियतपूर्ण कर्जामा प्राथमिकता दिनुपर्ने र मौद्रिक उपकरणमार्फत उत्पादन तथा उद्यमशीलतालाई प्रोत्साहन गर्नुपर्ने धारणा पनि उनले राखेका थिए। जवाफमा गभर्नर पौडेलले राष्ट्र बैंक मौद्रिक नीतिलाई अझ व्यवहारिक, व्यावसायिक र लचिलो बनाउने दिशामा अघि बढिरहेको बताउँदै अर्थतन्त्रलाई चलायमान बनाउने साझा उद्देश्यअनुसार लगानीकर्ता, उद्योगी तथा व्यवसायी सबैलाई सहज हुने गरी नीतिगत सहजीकरण गरिने आश्वासन दिएका थिए । यही अभिव्यक्तिलाई बजारले सकारात्मक संकेतका रूपमा ग्रहण गरेको देखिएको छ ।

केही सातायता निरन्तर ओरालो लागेको पूँजीबजारमा नीति निर्माण तहबाट आएका यस्ता सकारात्मक सन्देशले लगानीकर्ताको मनोविज्ञानमा परिवर्तन ल्याएको विश्लेषण गरिएको छ। नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिनमै बजारमा देखिएको उल्लेखनीय सुधारलाई धेरै विश्लेषकहरूले केवल प्राविधिक करेक्सन नभई विश्वास पुनःस्थापनाको प्रारम्भिक संकेतका रूपमा व्याख्या गरेका छन्। पछिल्ला दिनहरूमा कारोबार रकम बढ्नु, सक्रिय लगानीकर्ताको संख्या विस्तार हुनु तथा बजारप्रति नयाँ चासो देखिनु पनि सकारात्मक मनोविज्ञानकै परिणामका रूपमा हेरिएको छ। यद्यपि बजारको दिगो सुधारका लागि केवल आश्वासन वा सार्वजनिक अभिव्यक्तिभन्दा नीतिगत कार्यान्वयन, नियामकीय सुधार र आर्थिक गतिविधिको वास्तविक विस्तार आवश्यक रहनेमा विज्ञहरूले जोड दिएका छन्।

बजारमा विश्वास पुनःस्थापित गर्ने अर्को महत्वपूर्ण पक्ष नेपाल धितोपत्र बोर्डको सक्रियता पनि बनेको छ। लगातार बजार घटेपछि आन्दोलनमा उत्रिएका लगानीकर्तासँग भएको विस्तृत छलफलपछि बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले पूँजीबजार सुधारका लागि स्पष्ट रोडम्याप सार्वजनिक गरेका थिए। उनले सुशासन प्रवद्र्धन, कानुनी तथा नीतिगत सुधार, नियामकीय क्षमताको सुदृढीकरण, नयाँ वित्तीय उपकरणको विकास, बजारको पारदर्शिता वृद्धि तथा लगानीकर्ताको विश्वास पुनःस्थापनालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका थिए। त्यसयता लगातार तीन कारोबार दिन बजारमा सुधार देखिनुले नियामक निकायप्रतिको विश्वास क्रमशः बढ्न थालेको संकेत दिएको विश्लेषकहरूको भनाइ छ। पूँजीबजारमा सुधारका लागि सरकार, नियामक निकाय र निजी क्षेत्रबीचको सहकार्य अझ प्रभावकारी हुनुपर्ने आवश्यकता पनि यससँगै औंल्याइएको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४१.७० अकंले बढेर २७१९.२४ बिन्दुमा कायम भएको छ । आज ३४३ कम्पनीको १ करोड २२ लाख ३१ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५० करोड ३५ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन १२ उपसूचकमा हरियाली आएको छ । आज वाणिज्य बैंक समूहको ०.५५ प्रतिशत, विकास बैंक समूहको १.४८ प्रतिशत, फाइनान्स समूहको ०.९३ प्रतिशतले शेयर मूल्य बढेको छ ।

सोमबार २३९ कम्पनीको शेयर मूल्य बढेको छ भने ३२ कम्पनीको घटेको छ । ५ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*