आफ्नै शरीरमा पेट्रोल छर्केर २७ वर्षीया युवतीले लगाइन् आगो

५ श्रावण २०८३, मंगलवार ११:२९

काठमाडौँ । आफ्नै शरीरमा पेट्रोल छर्केर २७ वर्षीया युवतीले आत्मदाहको प्रयास गरेकी छन्। गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा सालु गुरुङले सोमबार राति ३ बजेतिर पेट्रोल छर्केर आगो लगाइकी हुन् ।

प्रहरीका अनुसार काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ स्थायी घर भई हाल माकलबारीमा बस्दै आएकी गुरुङले आफूले सञ्चालन गर्दै आएको खाजा पसलको पछाडिको पार्किङ क्षेत्रमा शरीरमा पेट्रोल छर्केर आगो लगाएकी हुन्।

आगो लागेको देखेपछि उनका श्रीमान्ले तत्काल उद्धार गरी साँखुस्थित शुस्मा कोइराला मेमोरियल अस्पताल पुर्‍याएका थिए। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा रिफर गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

छाती र दुवै हातमा गम्भीर जलन भएको छ। शरीरको करिब ५० प्रतिशत भाग जलेको प्रारम्भिक अनुमान गरिएको छ। हाल उनी सामान्य रूपमा बोल्न सक्ने अवस्थामा रहेकाले चिकित्सकको निगरानीमा उपचार भइरहेको छ।

आत्मदाह प्रयास गर्नुको कारण अझै खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*