आन्तरिक उडानमा बुद्ध एयरको वर्चस्वः ९ महिनामा १० अर्बको आम्दानी, बजार हिस्सा ५७ प्रतिशत

काठमाडौँ । आन्तरिक उडानमा वर्चस्व कायम गरेको बुद्ध एयरले साढे ९ महिनामा नै १० अर्बमाथिको व्यापार गरेको छ । एयर गत आर्थिक वर्ष २०८२।०८३ को चैत १५ गतेसम्ममा १० अर्ब ३१ करोड ६० लाख रुपैयाँको खुद सञ्चालन आम्दानी गरेको हो ।
कम्पनीले अघिल्लो आर्थिक वर्ष २०८१।०८२ मा १३ अर्ब ६७ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो । २०८०।०८१ मा १३ अर्ब २२ करोड ६० लाख, २०७९।०८० मा १२ अर्ब १६ करोड ९० लाख र २०७८।७९ मा १० अर्ब ९ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो ।
बजारमा कम्पनीको वर्चस्व अझै कायम रहे पनि हिस्सा भने घट्दो क्रममा देखिएको छ। सन् २०२५ मा बुद्ध एयरको बजार हिस्सा करिब ५७ प्रतिशत रहेको छ । सन् २०२४ को करिब ६० प्रतिशतको तुलनामा केही कम भए पनि कम्पनी अझै आन्तरिक उड्डयन बजारको सबैभन्दा ठूलो खेलाडीका रूपमा रहेको छ। केहि विमानबाट सेवा सञ्चालन नहुनु र बिक्री हुँदा हिस्सामा केहि कमि आएको देखिएको हो ।
वित्तीय सूचकांकले भने कम्पनीमाथि सञ्चालन लागतको दबाब बढ्दै गएको देखाएको छ। सञ्चालन नाफा तथा मूल्यह्रास, ब्याज र करअघिको आम्दानी (ईबिट्डा) सञ्चालन आम्दानीको अनुपात गत आर्थिक वर्षको चैत १५ गतेसम्म ८.२ प्रतिशतमा सीमित भएको छ। यो अनुपात आर्थिक वर्ष २०७८/७९ मा १३.२ प्रतिशत, २०७९/८० मा १० प्रतिशत, २०८०/८१ मा १७.८ प्रतिशत तथा २०८१/८२ मा १९.४ प्रतिशत रहेको थियो। पछिल्लो अवधिमा नाफाको अनुपात घट्नुको प्रमुख कारण इन्जिन मर्मत तथा पूर्ण पुनःनिर्माणमा अपेक्षाभन्दा धेरै खर्च हुनु र पश्चिम एसियामा उत्पन्न भूराजनीतिक द्वन्द्वका कारण हवाई इन्धनको मूल्य उल्लेख्य रूपमा बढ्नु रहेको कम्पनीले जनाएको छ।
यद्यपि कम्पनीले ऋण व्यवस्थापनमा भने उल्लेखनीय सुधार गरेको छ। कुल ऋण र मूर्त खुद सम्पत्तिको अनुपात आर्थिक वर्ष २०७८/७९ मा २ गुणा रहेकोमा २०७९/८० मा १.८ गुणा, २०८०/८१ मा १.६ गुणा, २०८१/८२ मा १.३ गुणा हुँदै गत आर्थिक वर्षको चैत १५ गतेसम्म १ गुणामा झरेको छ। भद्रपुरमा भएको विमान दुर्घटनासँग सम्बन्धित बीमा दाबीबाट प्राप्त रकम प्रयोग गरी कम्पनीले केही अल्पकालीन ऋण निर्धारित समयभन्दा अघि नै चुक्ता गरेपछि ऋणमा निर्भरता घटेको हो। हवाई उद्योग सञ्चालनमा चुनौतीपूर्ण अवस्था रहे पनि यो पक्ष कम्पनीका लागि सकारात्मक मानिएको छ।
तर कुल ऋण र ईबिट्डाको अनुपात भने गत आर्थिक वर्षको चैत १५ गतेसम्म ३.८ गुणामा पुगेको छ। यो अनुपात आर्थिक वर्ष २०७८/७९ मा २.७ गुणा, २०७९/८० मा २.९ गुणा, २०८०/८१ मा १.९ गुणा तथा २०८१/८२ मा १.७ गुणा रहेको थियो। त्यसैगरी ब्याज तिर्न सक्ने क्षमता पनि कमजोर बन्दै गएको देखिएको छ। आर्थिक वर्ष २०७८/७९ मा ६.६ गुणा रहेको ब्याज भुक्तानी क्षमता २०७९/८० मा ३.४ गुणा, २०८०/८१ मा ५.६ गुणा, २०८१/८२ मा ६.५ गुणा रहेकामा गत आर्थिक वर्षको चैत १५ गतेसम्म घटेर २.६ गुणामा पुगेको छ।
कम्पनीमाथि अमेरिकी डलरमा तिर्नुपर्ने ऋणको भार पनि उल्लेख्य छ। सन् २०२६ अप्रिल मध्यसम्म कम्पनीको कुल बैंक ऋणमध्ये करिब ६३ प्रतिशत अमेरिकी डलरमा रहेको थियो। साथै विमान मर्मत, सम्भार तथा आवश्यक पुर्जा खरिदका अधिकांश खर्च पनि अमेरिकी डलरमै हुने भएकाले कम्पनी विदेशी विनिमय दरको उतारचढावबाट प्रत्यक्ष प्रभावित हुँदै आएको छ।
यद्यपि पछिल्लो समय अमेरिकी डलरमा हुने आम्दानी केही बढेको भए पनि त्यो अझै कोभिड–१९ महामारीअघिको करिब २५ प्रतिशतको स्तरभन्दा कम रहेको छ। गत आर्थिक वर्षको साढे नौ महिनामा कम्पनीको कुल आम्दानीमध्ये करिब १५ प्रतिशत मात्रै अमेरिकी डलरमा प्राप्त भएको हो ।
नियामक निकायले कम्पनीलाई अमेरिकी डलरमा लिएको ऋण नेपाली रुपैयाँमै भुक्तानी गर्न अनुमति दिँदै आए पनि विदेशी विनिमय दरमा हुने उतारचढावको जोखिम भने कायमै रहेको छ। पछिल्ला वर्षहरूमा नेपाली रुपैयाँ अमेरिकी डलरको तुलनामा निरन्तर कमजोर बन्दै जाँदा विदेशी विनिमयबाट हुने घाटा बढ्दै गएको कम्पनीको वित्तीय अवस्थाले देखाएको छ। यद्यपि नेपालमा विदेशी पर्यटकको आगमन बढ्दै गएकाले अमेरिकी डलरमा हुने आम्दानी पनि विस्तारै बढिरहेको र त्यसले विनिमय जोखिमको प्रभाव केही हदसम्म कम गर्न सहयोग पुगेको विश्लेषण गरिएको छ।
हाल बुद्ध एयरले काठमाडौँबाट माउन्टेन फ्लाइटसहित धनगढी, सुर्खेत, नेपालगञ्ज, भैरहवा, पोखरा, चितवन, सिमरा, जनकपुर, राजविराज, तुम्लिङटार, विराटनगर र भद्रपुरमा नियमित उडान सञ्चालन गरिरहेको छ। त्यस्तै भारततर्फ काठमाडौँ–वाराणसी र काठमाडौँ–कोलकाता उडानमार्फत सीमित अन्तर्राष्ट्रिय सेवा पनि प्रदान गर्दै आएको छ।
सन् १९९६ मा स्थापना भएको बुद्ध एयर नेपालकै सबैभन्दा ठूलो तथा सबैभन्दा लामो समयदेखि सञ्चालनमा रहेको निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी हो । कम्पनीले मुख्य रूपमा नेपालको आन्तरिक प्रमुख हवाई मार्गमा सेवा प्रदान गर्दै आएको छ भने काठमाडौँबाट भारतका वाराणसी र कोलकातासम्म सीमित अन्तर्राष्ट्रिय उडान पनि सञ्चालन गर्दै आएको छ । हाल कम्पनीसँग एउटा एटीआर–४२ र १४ वटा एटीआर–७२ गरी कुल १५ वटा जहाज सञ्चालनमा रहेका छन् । कम्पनीका अध्यक्ष वीरेन्द्रबहादुर बस्नेत हुन् ।
इक्रा नेपालले बुद्ध एयरको बैंक ऋणसम्बन्धी मूल्याङ्कनलाई ‘विकासोन्मुख प्रभावसहित निगरानी’मा राखेको छ। कम्पनीको दीर्घकालीन तथा अल्पकालीन दुवै ऋण मूल्याङ्कनमा यो व्यवस्था लागू गरिएको हो। कम्पनीको दीर्घकालीन ऋण मूल्याङ्कन ‘एल ए’ श्रेणीमा कायम राख्दै त्यसलाई ‘विकासोन्मुख प्रभावसहित निगरानी’मा राखिएको छ। त्यस्तै अल्पकालीन ऋण मूल्याङ्कन ‘ए वान’ श्रेणीमा कायम राख्दै त्यसलाई पनि ‘विकासोन्मुख प्रभावसहित निगरानी’मा समावेश गरिएको छ।
कम्पनीको नेपाली रुपैयाँमा रहेको दीर्घकालीन अवधिको ऋण सीमा यसअघि १ अर्ब ३० करोड ९१ लाख ८० हजार रुपैयाँ रहेकोमा हाल १ अर्ब १३ करोड ६ लाख ४० हजार रुपैयाँ कायम गरिएको छ। त्यसैगरी अमेरिकी मुद्रामा रहेको दीर्घकालीन ऋण सीमा १ करोड ८७ लाख ४० हजार अमेरिकी डलरबाट घटाएर १ करोड ३७ लाख ६० हजार अमेरिकी डलर कायम गरिएको छ।
नेपाली रुपैयाँमा रहेको अल्पकालीन ऋण सीमा भने ८७ करोड रुपैयाँ यथावत् कायम गरिएको छ। ओभरड्राफ्ट सुविधा अन्तर्गतको सीमा ८२ करोड ९९ लाख ७० हजार रुपैयाँबाट बढाएर ८७ करोड रुपैयाँ पुर्याइएको छ। त्यसैगरी बैंक जमानत सुविधा अन्तर्गतको सीमा ८ करोड रुपैयाँबाट बढाएर २५ करोड रुपैयाँ कायम गरिएको छ। कम्पनीको नेपाली रुपैयाँतर्फको कुल ऋण सीमा यसअघि ३ अर्ब ८ करोड ९१ लाख ६० हजार रुपैयाँ रहेकोमा हाल ३ अर्ब १२ करोड ६ लाख ४० हजार रुपैयाँ पुगेको छ। अमेरिकी मुद्रातर्फको कुल ऋण सीमा भने १ करोड ८७ लाख ४० हजार अमेरिकी डलरबाट घटेर १ करोड ३७ लाख ६० हजार अमेरिकी डलरमा सीमित भएको छ।











