भ्याट छली प्रकरण : विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा अख्तियार

५ श्रावण २०८३, मंगलवार १६:३२

काठमाडौं । आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेत संलग्न रहेको भनिएको मूल्य अभिवृद्धि कर (भ्याट) छली तथा भ्रष्टाचार मुद्दामा विशेष अदालतले दिएको आंशिक सफाइको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ।

आयोगले विशेष अदालतको २०८२ चैत १० गतेको फैसलामा चित्त नबुझेपछि मंगलबार सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको जनाएको छ।

अख्तियारका अनुसार आर्थिक वर्ष २०७६/७७ मा सुन्दरहरैँचा नगरपालिकाको गछिया खोलाबाट नदिजन्य पदार्थ उत्खनन गरेबापत सरकारलाई बुझाउनुपर्ने १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसाको मूल्य अभिवृद्धि कर (भ्याट) दाखिला नगरी राज्यलाई हानी पुर्‍याइएको आरोपमा तत्कालीन कर अधिकृत तिलक आलेसहितका प्रतिवादीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको थियो।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो असुल, बिगोबराबर जरिवाना, कैद तथा अन्य कानुनी सजायको माग गर्दै आरोपपत्र दायर गरेको भए पनि विशेष अदालतले केही आरोपमा प्रतिवादीलाई आंशिक सफाइ दिएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*