६ दिनको हरियालीपछि शेयर बजारमा करेक्सनः कारोबार घट्यो, लगानी गर्ने बेला हो ?

६ श्रावण २०८३, बुधबार १५:०४

काठमाडौँ । लगातार ६ दिनसम्म हरियाली देखिएको नेपालको शेयर बजारमा बुधबार सामान्य करेक्सन देखिएको छ । पछिल्ला दिनमा तीव्र गतिमा बढेको बजारमा लगानीकर्ताले नाफा सुरक्षित गर्न थालेपछि कारोबार मापक परिसूचक दोहोरो अंकले घट्न पुगेको हो । यद्यपि, बजार विश्लेषकहरूले यसलाई गिरावट नभई स्वाभाविक करेक्सनका रूपमा लिएका छन् । बजारको दिगो विकास, नयाँ लगानीकर्ताको प्रवेश र आगामी वृद्धिका लागि समय–समयमा हुने यस्ता करेक्सन आवश्यक हुने उनीहरूको भनाइ छ ।

पछिल्लो समय शेयर बजारमा कारोबार रकम निरन्तर बढ्दै गएको छ भने बजारमा प्रवेश गर्ने नयाँ लगानीकर्ताको संख्या समेत विस्तार हुँदै गएको देखिएको छ । लगानीकर्ताको आत्मविश्वास बढाउन पछिल्लो राजनीतिक तथा नीतिगत वातावरणले समेत सहयोग गरेको छ । विशेषगरी बालेन्द्र शाहले पूँजी बजारलाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायहरूसँग छलफल तथा भेटवार्ता गर्दै सकारात्मक सन्देश प्रवाह गरिरहेका छन् । यसले बजारप्रति लगानीकर्ताको धारणा क्रमशः सकारात्मक बन्दै गएको देखिएको छ ।

बजार सुधारको अर्को महत्वपूर्ण आधार नेपाल धितोपत्र बोर्डको पछिल्लो सक्रियतालाई मानिएको छ । लामो समयसम्म बजारमा आएको गिरावटपछि आन्दोलनमा उत्रिएका लगानीकर्तासँग छलफल गरेको बोर्डले बजार सुधारका लागि स्पष्ट कार्ययोजना अघि सारेको थियो । बोर्ड अध्यक्ष डा. गोपालप्रसाद भट्टले नियामकीय सुधार, बजार विस्तार, लगानीकर्ता संरक्षण, पारदर्शिता अभिवृद्धि तथा नयाँ वित्तीय उपकरणको विकासलाई प्राथमिकतामा राख्दै चरणबद्ध सुधार प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

पछिल्ला दिनमा सरकार, नियामक निकाय तथा मौद्रिक नीतिसँग सम्बन्धित पक्षबाट आएका सकारात्मक संकेतहरूले लगानीकर्ताको मनोविज्ञानमा समेत परिवर्तन ल्याएको छ । नीतिगत स्थिरता, बजार विस्तार, पारदर्शिता र लगानीमैत्री वातावरण निर्माणका प्रतिबद्धता व्यवहारमा कार्यान्वयन हुन सकेमा अहिले देखिएको सुधारले आगामी दिनमा अझ बलियो आधार पाउने अपेक्षा गरिएको छ । सामान्य करेक्सनलाई आत्मसात गर्दै बजारले पुनः सकारात्मक गति लिन सक्ने विश्वास लगानीकर्तामाझ बढ्दै गएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.९५ अकंले घटेर २७१२.५४ बिन्दुमा कायम भएको छ । आज ३४६ कम्पनीको १ करोड १३ लाख ५४ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १८ करोड २९ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन ११ उपसूचक घटेका छन् भने २ उपसूचकमा समेत सुधार आइरहेको छ । आज वाणिज्य बैंक समूहको शेयर मूल्य ०.२७ प्रतिशत र विकास बैंक समूहको ०.२४ प्रतिशतले घटेको छ ।

बुधबार ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको घटेको छ । आज ७ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*