कालिकोटको सडक निर्माणमा ८ लाख घोटाला, १० जनामाथि भ्रष्टाचार मुद्दा

६ श्रावण २०८३, बुधबार १७:११

काठमाडौं । कालिकोटको पलाँता गाउँपालिकामा आर्थिक वर्ष २०७५/७६ मा निर्माण गरिएको बेल्केढुङ्गा–लेखनवाडा वडा कार्यालय–दुर्सी फागोटी ग्रामीण सडक योजनामा ८ लाख ८ हजार ६८० रुपैयाँ घोटाला गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार उक्त सडक निर्माणका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन भई उपभोक्ता समितिसँग सम्झौता गरिएको थियो। नापी किताब र कार्यसम्पन्न प्रतिवेदनका आधारमा ग्याविन जालीसहित १ हजार २०० घनमिटर ढुङ्गा भरिएको भन्दै ३८ लाख रुपैयाँ भुक्तानी गरिएको थियो।

तर आयोगको प्राविधिक टोलीले स्थलगत नापजाँच गर्दा ९३९.५० घनमिटर मात्र काम भएको भेटिएको छ। प्रतिवेदनमा उल्लेख गरिएकोभन्दा २६०.५० घनमिटर कम काम भएको अवस्थामा झुट्टा बिल तथा भरपाई बनाएर ८ लाख ८ हजार ६८० रुपैयाँ बढी भुक्तानी गरिएको आयोगको आरोप छ।

यस प्रकरणमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बम, लेखा प्रमुख खिमलाल पुन, सहायक लेखापाल मुनीप्रसाद प्याकुरेल, सव–इन्जिनियर विनोदकुमार बम र नन्दबहादुर सिंह, तत्कालीन उपाध्यक्ष दाना न्यौपाने, वडा नं. ९ का तत्कालीन वडा अध्यक्ष टक्कबहादुर बम तथा उपभोक्ता समितिका अध्यक्ष कुम्भबहादुर बम, कोषाध्यक्ष सुलक्षिना बम र सचिव कमलबहादुर बमलाई प्रतिवादी बनाइएको छ।

आयोगले मुख्य प्रतिवादीहरूसँग बिगो असुल, बिगो बराबर जरिवाना र कैद सजायको माग गरेको छ भने झुट्टा प्रतिवेदन तयार गरेको आरोपमा सम्बन्धित प्राविधिक कर्मचारी तथा गैरकानुनी लाभ लिएको आरोपमा उपभोक्ता समितिका पदाधिकारीमाथि समेत कारवाहीको माग गर्दै विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*